
बिमल प्रसाद पोख्रेल,
प्युठान खबर । बिस्थापित हुने अबस्थामा प्युठान नगरपालिका-७ का कृषक बिनोद थापा ‘बाबुराम’ ले गाई फर्म संचालन गरेको १० बर्ष भयो। उहाँले यो पेशामा गरेका संघर्ष र दु:ख अनुसारको सफलता नपाएको भन्दै अहिले यो पेशाबाट टाढिनुपर्ने अबस्था आएको बताउनु भयो।
१० बर्ष अघि ५ वटा गाईबाट संचालन गरेको फर्म अहिले १०/१२ वटा हुँदै १७/१८ सम्म पुगेर समाप्त हुने अबस्थामा छ। सुरुवाती चरणमा बैंकबाट ३ लाख ५० हजार, साथीहरु र अन्य साहुबाट ५ लाख भन्दा बढी ऋण लिई करिब ८ लाखको हारहारीमा गाई फर्म संचालन गरेको थापाको भनाई छ।
लकडाउनको समयमा दानाको अभाव भएको र सरकारबाट आफुले पाउनु पर्ने अनुदान नपाएपछी आफुलाई फर्म संचालन गर्न सकस परेको भन्दै आफुसंग फर्ममा भएका गाई सबै बेच्नु पर्ने अबस्था आएको कृषक थापाको भनाई छ। उहाँले भन्नुभयो, ” मैले निकै संघर्ष र दु:ख गरेर फर्म संचालन गरेको थिए। अब त्यही फर्मबाट टाढा हुनुपर्ने बाध्यता आएको छ।
लकडाउनको बेला गाईलाई चाहिले दाना पाउन पनि गाह्रो भयो। यस्तो अबस्थामा मैले उनिहरुलाई कसरी पाल्ने?” उहाँले आफ्नो दु:ख सुनाउदै आफुलाई स्थानीय तहले पनि कुनै सहयोग नगरेको बताउनु भयो। ” मैले अनुदानकै लागि स्थानीय तहको निकै चक्कर काटे तर मलाई अनुदान दिइएनन।
मैले मेरै छोरोलाई पनि कृषि संबन्धी बिषय पढाएर सबै परिवार यसै पेशामा लागि जिल्लामा एक सफल कृषक परिवार भनेर चिनिन्छु अनि नगरपालिकालाई मेरै फर्मबाट दुध पुर्याइ आत्मनिर्भर बनाउछु भन्ने लक्ष्य लिएर फर्म संचालन गरे तर स्थानीय निकायबाट कुनै पनि साथ पाएन।” उहाँले भन्नुभयो, “स्थानिय सरकारबाट तालिम, परामर्श, अबलोकन अनि थप अनुदानको आस गरेको थिए, तर भएन।
यदि स्थानीय सरकारले यत्ती गरेको भए मलाई पनि हौसला र सहयोग हुने थियो। र यो पेशामा थप अग्रसर हुने थिए होला।” उहाँका अनुसार आफु जस्ता वास्तविक कृषक सरकारी अनुदानबाट बन्चित भएको बताउनु भयो। आफु गाई पालेरै केही गर्छु भन्ने सोचका साथ यो पेशामा लागेपनी कहिँ-कतैबाट साथ सहयोग नमिलेपछी आफ्नो मनोबल गिरेको थापाको भनाई छ।
आफ्नो फर्मबाट उत्पादन गरेको दुध जम्मा प्रतिलिटर ५५ रुपैयामा डेरिलाई उपलब्ध गराउनु पर्ने र डेरिले सोही दुध ८०/९० रुपैयाँमा बेच्ने गरेको बताउनु भयो। यसरी आफुले दुधबाट पनि घाटा ब्यहोर्दै आएको उहाँको भनाई छ। गाई फर्म सङ्गै थापाले माहुरी, कुखुरा, बाख्रा र भैंसी पनि पाल्दै आउनु भएको छ।
फर्ममा रहेका सबै गाईहरु बेचिसकेको र बाँकी ३ वटा गाईलाई पनि छिट्टै बेच्ने उहाँले बताउनु भयो। यदि स्थानिय सरकारले ब्यबस्था मिलाइदिन सके यी गाईहरु बेचेर आएको पैसाबाट धेरै दुध उत्पादन गर्ने गाईहरु भारतबाट ल्याई पुन: ब्यबस्थित गरि गाई फर्म संचालन गर्ने र यो पेशालाई आधुनिकीकरण गर्ने उहाँको सोंच छ।