ट्रेन्डीङ्ग

गिरुप्रसाद भण्डारी (कान्तिपुर),

प्यूठान (स्याउलीवाङ) । प्यूठानको नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका किसानले धमाधम सलह संकलन गर्न थालेका छन् । गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिन थालेपछि किसानले मंगलबारसम्म २० क्विन्टल सलह संकलन गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए ।

किसानले सलह छोपी बोरामा राखेर वडा कार्यालयमा बुझाउने गरेका छन् । वडाले किसानले ल्याएको सलह तौलेर नगद दिँदै आएको छ । स्याउँलीबाङमा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सलह कीराले किसानको बालीमा क्षति गरेको छ । ‘सलह अझै गाउँमा सक्रिय छ,’ विकले भने, ‘किसानले अझै संकलन गर्दै छन् ।’

भारत हुँदै नेपालको तराईका जिल्लाबाट गत साता आएको सलहले बाली खाएर सखाप पारेपछि किसानले पालिकामा राहतका लागि माग गरेका थिए । त्यसपछि पालिकाले सलह छोपेर ल्याए प्रतिकिलो ५० रुपैयाँका दरले दिने निर्णय गरेको हो । बालीमा धेरै क्षति गरेपछि गाउँभरका किसानले सलह संकलन गर्न थालेको नौबहिनी–१ का वडाध्यक्ष शेरबहादुर सेनले बताए ।

‘तराईबाट लुङ खोलैखोल आएको सलह कोठीभीर पार गरेर बागलुङतर्फ जान सकेन,’ उनले भने, ‘हप्तौं गाउँमै बसेर बाली सखाप पार्‍यो ।’ मकै, कोदोसहित डाँले घाँससमेत सलहले नोक्सान गरेको र अझै पनि स्याउँलीबाङ क्षेत्रको जंगलमा सलह बास बसेको उनले जानकारी दिए ।सलहले स्याउँलीबाङको खलेसबाङ, खारखोला, मड्धारा, छेपेवडारलगायत बस्तीमा धेरै नोक्सानी गरेको छ ।

उच्च पहाडी क्षेत्रमा सलह पुगेपछि चिसोका कारण धेरै सक्रिय नभएकाले समात्न सकेको किसानहरूले बताए । ‘सुरुमा गाउँमा आउँदाखेरी सलह धेरै चलाख थिए, छोप्न मुस्किल पर्थ्यो,’ किसान लछुमन बुढाले भने, ‘चिसो हावापानीका कारणले होला अहिले त सलह भुइँमै बसेका छन् । हिजोआज धेरै उड्न सक्दैनन् । छोप्न सहज छ ।’

मंगलबारसम्म १ सय ५९ जना किसानले २० क्विन्टल सलह वडा कार्यालयमा ल्याएको नौबहिनी गाउँपालिकाले जनाएको छ । खेत, बारी, पाखापखेरामा सलहका हूलका हूल झुन्ड रहेकाले दिनमा ३०/४० किलोसम्म सलह जम्मा गर्न सकिने स्थानीय नौमती बुढाले बताइन् । आफू एक्लैले ७० किलो सलह वडा कार्यालयमा बुझाएको उनले बताइन् । ‘सलहले चारमुरी फल्ने मकैबारी पूरै नोक्सान गरेको छ,’ उनले भनिन्, ‘धपाउँदा/धपाउँदै सखाप पार्‍यो ।’ सलह बुझाएकाहरूलाई पालिकाले नगद दिने भनेपछि समात्न थालेको उनको भनाइ छ । पालिकाबाट पाइने रुपैयाँले चामल किन्ने सोच बनाएको उनले सुनाइन् ।

नौबहिनी–१, स्याउँलीबाङका किसानले संकलन गरेको सलह कीराको अवलोकन गरी नष्ट गर्न कृषि शाखाबाट टोली मंगलबार स्याउँलीबाङ पठाइएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कृषि शाखाका कर्मचारीले नौबहिनी–१ मा २० क्विन्टल सलह खाडलमा पुरेको भण्डारीको भनाइ छ । ‘किसानले संकलन गरेको सलहको व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘सलह संकलन गर्नाले बालीमा थप नोक्सान गर्नबाट रोक्ने आशा गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय