अब देखि नौबहिनी गाउँपालिका प्युठानको आफ्नै सिंहदरबारबाट सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको नवनिर्मित भवनबाट प्रशासनिक सेवा सुरु हुने भएको छ । असोज १६ गते गाउँपालिकाले प्रशासकीय भवनको उद्घाटन गर्ने तयारी समेत गरेको छ । १६ गते दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का नेता, पुर्व प्रधानमन्त्री माननीय श्री के. पी. शर्मा ओलिले उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।
२०७८ सालदेखि भवनको निर्माण कार्य सुरु भएको हो । भवन निर्माणको लागि रविना / आँशु / मल्लरानी जेभीले २०७९ मंसिर १५ मा निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । ८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएको थियो ।
अठार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएर सम्झौता भएपनि भवन करिब १० महिना ढिलो सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो ।
२०७८ असार ११ गते शुक्रबार नौबहिनी गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको थियो । गाउँपालिका पुर्व अध्यक्ष शिव रिजालले शिलान्यास गरेसँगै भवन निर्माण कार्य अघि बढेको थियो ।
नवनिर्मित पालिकाको प्रशासकीय भवनबाट जनतालाई सेवा प्रवाह गर्न सहज हुने अध्यक्ष थापाले बताउनुभयो ।
भवनको विभिन्न शाखाका ३४ वटा कोठाबाट सेवाप्रवाह हुनेछन् । अन्याधुनिक भवनबाट सेवा सन्चालन भए सेवाग्राहिले सहजै सेवा पाउनेछन । स्थानीय तह लागु भएदेखि गाउँपालिकाले भाडाको घरमा बसेर सेवा दिदै आएको थियो ।