
नौबहिनी गाउँपालिका वडा नं. ५, डामृमा संविधान दिवस-२०८० मनाइएको छ । प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता तथा नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरको विशेष उपस्थितिमा दिवस मनाइएको हो ।
एक कार्यक्रमको आयोजना गर्दै वडाले दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले संविधान जारी भए पश्चात् हामी सबैको हक, अधिकार सुनिश्चित गर्दै देशले सकारात्मक दिशा पैलाएको बताउनुभयो । यस्तै प्रमुख अतिथि श्रेष्ठले संविधान जारी गर्न कुशल भुमिका खेल्ने सबैप्रती सम्मान व्यक्त गर्दै आफू सबैको साझा भएकोले दिगो विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, अन्य सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस-२०८० मनाइरहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५ सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।