ट्रेन्डीङ्ग

तेजेन्द्र बि. एम.
जापानिज रेडक्रसको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाद्धारा प्यूठान जिल्लाको प्यूठान न.पा. र नौबहिनी गाउँपालकाको वडा नंं. ३ र ५ मा स्थानीय सरकारसँगको समन्वयमा समुदायको अगुवाईमा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन को ३ दिने तालीम सप्पन्न भएको छ । नौबहिनीमा १४ गते आइतबारदेखि सञ्चालन भएको तालिमको आज समापन भएको छ । सोही परियोजना अन्तर्गत समुदायमा विपद् व्यवस्थापनका क्रियाकलापहरु संचालन गर्नका लागि ८ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरु गठन भई सम्वन्धित वडा कार्यालयमा सूचीकृत समेत भइसकेका छन् ।

समुदायमा हुने विपद्का घटनाहरुलाई न्यूनीकरण र व्यवस्थित गर्ने ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले नौवहिनी गाउँपालिका वडा नं. ३ र ५ मा गठन भएका क्रमश: सारिबाङ, तीनखोली, सिद्धबाबा र डाम्री काँटे सामुदायिक विपद् व्यवस्थापन समितिका २४ जना व्यक्तिहरुको सहभागितामा फागुन १४ देखि १६ गतेसम्म ३ दिने समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तालिम नौबहिनी गाउँपालिका वडा नं.-६, बहानेमा संचालन भएको हो ।

३ दिने तालिममा रेडक्रस तथा रेडक्रिसेन्ट अभियान, विपद् शब्दावलीहरु, विपद् जोखिम व्यवस्थापन र चक्र, संकटासन्नता क्षमता लेखाजोखाको प्रयोग र क्रम, जलवायु परिवर्तन तथा अनुकुलन, सामाजिक समावेशीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी नीति तथा ऐनहरु, आपतकालीन स्वास्थ्य, विपद् जोखिम व्यवस्थापनका उपायहरुको पहिचान र सामुदायिक विपद् तथा जलवायु उत्थानशील योजना, सहभागितामूलक संकटासन्नता र क्षमता विश्लेषणका औजारहरुको प्रयोग र अभ्यास, सामुदायिक विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार, सामुदायिक विपद् व्यवस्थापन समितिको विपद् व्यवस्थापन कोष संचालन कार्यविधि र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको प्रक्रिया र संरचना योजना कार्यान्वयन विषयमा प्रशिक्षण दिईएको छ ।

तालिम पश्चात सहभागीहरु विपद् व्यवस्थापन तथा न्यूनीकरणका गतिविधिहरु सँगै सामुदायिक विपद् व्यवस्थापन समितिको विपद् व्यवस्थापन योजना तयार गर्ने, आकस्मिक कोषको अभिवृद्धि र व्यवस्थापन गर्ने जस्ता क्रियाकलापहरुमा सक्रिय रुपले तत्परता देखाउनेमा विश्वास व्यक्त गरिएको छ । तालिमको सहजीकरण भविराम भण्डारी, शैलेश श्रेष्ठ र रविन्द्र रोकाले गर्नुभएको सोही परियोजनाका जिल्ला कार्यक्रम अधिकृत सरोज थापाले जानकारी दिनुभएको छ ।

तालिम नेपाल रेडक्रस सोसाइटीका प्यूठान जिल्ला शाखाका उपसभापति देवी प्रसाद रिजालको अध्यक्षता र  नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको प्रमुख आतिथ्यतामा १४ गतेदेखि तालीम सुरु भएको थियो ।

कार्यक्रम समापन सत्रमा आफ्नो भनाई राख्दै नेरेसो प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले विपद्को क्षेत्रका अग्रणी संस्थको रुपमा काम गर्दै आइरहेको मानवीय संस्था रेडक्रसको सहजीकरणमा गठित सामुदायिक विपद् व्यवस्थापन समितिले वडा स्तरीय विपद् व्यवस्थापन समितिसँगको समन्वय र सहकार्यमा विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै रेडक्रस सदैव समुदायको साथमा रहेको व्यहोरा व्यक्त गर्नुभएको थियो ।

अधिकृत थापाकाले सोही प्रकृतिको तालिम प्यूठान नगरपालिकाको वडा नं. ३ र ५ मा गठन भएका ४ वटा सामुदायिक  विपद् व्यवस्थापन समितिका २४ जना व्यक्तिहरुको लागि चैत्र २ देखि ४ गतेसम्म जुम्रीमा आयोजना गर्न लागिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय