
तेजेन्द्र बि. एम.
जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ५, डामृ सानोडामृमा हुने विवाह तथा मेला जात्रामा मदिरा सेवन, प्रयोग तथा बिक्री वितरण गर्ने कार्य निषेध गरिएको छ । देउराली युवा क्लब नौबहिनी गाउँपालिका वडा नं. ५, डामृ र सानोडामृ टोल विकास संस्थाको आयोजनामा बसेको संयुक्त बैठकले यस्ता खाले गतिविधिले सामाजिक विकृति बढेको भन्दै सो कार्यहरू बन्द गर्ने निर्णय गरेको हो ।बैठकले साविक डामृ गाविस वडा नं. १ र २ अन्तर्गतको क्षेत्रभित्र पर्ने सम्पुर्ण घरधुरीमा लागु हुने गरि यस्ता कार्यहरु बन्द गर्ने निर्णय गरेको छ ।
खासगरी शुभ विवाह, मृत्यु पश्चात् गरिने काजकिरिया, मेला जात्रा तथा अन्य किसिमका पार्टी एवं भोजहरुमा मदिरा सेवन अत्यधिक हुने र त्यसले सामाजिक विकृति सङ्गै दुर्घटना समेत निम्त्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २०७९ फागुन १ गतेदेखि बन्द गर्ने निर्णय गरिएको हो । आजका मिति देखी यि कार्यहरु गेरे गराएको पाइएमा वा नियम उल्लंघन गरेमा पहिलोपटकलाई नगद रु. ३ हजार, दोस्रोपटकलाई नगद रु. ५ हजार र तेस्रोपटक समेत अटेरी गरि खुल्ला प्रकृतिले सेवन, लेनदेन र बिक्री वितरण गरेमा नगद रु. १० हजार जरिवाना सङ्गै प्रशासनको जिम्मा लगाइने भएको छ । खासगरी विवाह तथा काजकिरियामा इष्टमित्र तथा आफन्तजनहरुले ऐचोपैचोका रुपमा जाड रक्सीको प्रयोग र लेनदेन गर्ने प्रचलन रहि आएको र यसले समाजमा विकृति बढेको स्थानीयहरुको बुझाइ रहेको छ । विवाहमा कोसेलीका रुपमा समेत रक्सीको लेनदेन हुने हुनाले यो कार्यको समेत अन्त्य गरिने भएको छ ।
बैठकमा क्लबको आर्थिक तथा प्रगति विवरण प्रस्तुत, सामाजिक विकृतिको निराकरणका उपाय, निष्कर्ष र निर्णय सङ्गै नौबहिनी गाउँपालिका-५, डामृ कडेनि निवासी मुटु तथा फोक्सोमा रोग लागी हाल टिचिङ्ग अस्पताल काठमाडौमा उपचाररत छबिलाल खत्रीको छोरी कमला खत्रीलाई आर्थिक सहयोग लगायतका विविध विषयहरुमा छलफल गरिएको थियो । बैठकमा क्लबको तर्फबाट नगद रु. ५ हजार सहयोग गर्ने र आजका मितिदेखि क्लबको पहलमा रकम संकलन गरेर संकलित रकम निज बिरामीको उपचारका लागि प्रदान गरिने भएको छ ।
देउराली युवा क्लब नौबहिनी गाउँपालिका वडा नं. ५, डामृ र सानोडामृ टोल विकास संस्थाको आयोजना, नौबहिनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दलराज पुन मगरको विशेष आतिथ्यता र सम्पुर्ण स्थानीय बासिन्दाहरुको उपस्तिथिमा बैठक बसि यस्तो निर्णय गरिएको हो ।