ट्रेन्डीङ्ग

प्यूठान, । प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ भन्ज्याङकी सुजाता शाही १५ वर्ष पुग्नुभयो । गत २०७५ सालमा बुवाको मुत्यु भयो । बुबाको मृत्यु भएपछि २०७६ मा आपूलाई जन्म दिएकी आमासमेत अर्कोसँंग विवाह गरेर जानुभयो ।

सुजाता, उहाँकी १६ वर्षीया दिदी सिर्जना र १२ वर्षीया बहिनी अस्मिता सहाराविहीन हुनुभयो । तीनै दिदीबहिनी झुपडीमा त्रिपालले छाएर र बाँसले बारेर बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्न समेत नसकेको यो परिवारको सारथी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बनेको छ । कार्यक्रममार्फत तीन दिदीबहिनीको घर निर्माण भएको छ ।

ब्लकको गाह्रो लगाइएको दुईकोठे घर निर्माण गरिएको हो । कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा घर निर्माण भएको कार्यक्रमका सहजकर्ता हरि भण्डारीले बताउनुभयो । घर निर्माणमा ठूलीआमा तुल्सी केसीले रु २० हजार सहयोग गरेको सुजाताले बताउनुभयो । पुरानो छाप्रो भत्काएर पाँच दिनमा माहिला काका प्रदीपको सहायतामा घर निर्माण भएको उहाँ बताउनुहुन्छ ।

 

“पहिले छाप्रोबाट पानी चुहिन्थ्यो, बस्नलाई अप्ठेरो हुन्थ्यो”,सुजाताले भन्नुभयो,–“घर निर्माणपछि यो समस्या समाधान भएको छ ।” घर निर्माणसंँगै शौचालय समेत निर्माणका लागि उहाँको परिवारले माग गरेको छ ।

 

मल्लरानी ३ मुन्डाँडाकी काली सार्कीको पनि अवस्था उस्तै हो । आर्थिक अवस्था कमजोर भएकी उहाँ लामो समयसम्म जीर्ण घरमा बस्नुभयो । नयाँ घर बनाउन नसक्दा वर्षात्मा पानी पर्दा चुहिने समस्या रहेको उहाँ सुनाउनुहुन्छ । उहाँको पनि नयाँ घर निर्माणमा कार्यक्रमले सहयोग गरेको हो ।

 

गाउँपालिकाको जस्तापाता र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा कालीको घर पुनःनिर्माण गरिएको हो । घर निर्माण गरिदिएकामा खुशी हुँदै अब पानी पर्दा पनि ढुक्कसंँग सुत्न पाइने उहाँले बताउनुभयो ।

 

गाउँपालिकाका पाँच वडाभित्र आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरीब तथा विपन्न घरपरिवारका लागि म्ुाख्यमन्त्री कार्यक्रमअन्तर्गत चालु आव २०७६÷०७७ मा नयाँ र मर्मत गरी १९ घर निर्माण गरिएको छ । कार्यक्रममार्फत १० नयाँ घर निर्माण गरिएको तथा नौ घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता भण्डारीले बताउनुभयो । सोका लागि कार्यक्रममार्फत रु सात लाख विनियोजन गरिएको थियो ।

लामो समयदेखि आर्थिक अवस्थाले गर्दा नयाँ घर निर्माण गर्न नसकेका र घर मर्मत समेत गर्न नसकेका व्यक्तिको परिवारका लागि सहयोग पुग्ने उद्देश्यले सा कार्यक्रममार्फत सम्बोधन गरिएको उपाध्यक्ष सरिता जिसीले बताउनुभयो । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकाभित्र तरकारी खेतीका लागि विभिन्न ठाउँमा टनेल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष, वडा २ चुजाँमा सिंचाइ कुलो, वडा नं ५ मा बालविकास केन्द्र निर्माणलगायत काम गरिएको सहजकर्ता भण्डारीले बताउनुभयो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम:- कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीकै समयमा जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । प्युठान नगरपालिका तथा माण्डवी र गौमुखी गाउँपालिकाले यो कार्यक्रम शुरु गरेका छन् भने अन्य स्थानीय तह पनि तयारीमा छन् ।

 

प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५१० व्यक्तिलाई रोजगारी दिएको रोजगार संयोजक माधव गिरीले बताउनुभयो । कार्यक्रममार्फत नगरका १० वटै वडामा १५ निर्माणका काम सञ्चालन भएका छन् । स्थानीय बाटो, सडक, विद्यालय र खानेपानी मर्मतका काम सञ्चालन भएको रोजगार संयोजक गिरीले बताउनुभयो । कार्यक्रम मार्फत नगरपालिकामा रु ७६ लाख ७८ हजार बजेट विनियोजन भएको छ ।

 

रोजगार कार्यक्रममार्फत काम गरिरहनुभएका प्युठान– ४ का शिवबहादुर नेपालीले बन्दाबन्दीको समयमा धेरै दिनपछि काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विजुवार मित्रमणिचोकदेखि हल्दीखोला हुँदै भित्रीकोटसम्मको सडककमा नाली निर्माणको काम गरेको उहाँले बताउनुभयो ।

 

माण्डवी गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । पालिकाका पाँच वटा वडामा नौ वटा योजनाको काम हुने गरी कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । यस्तै गौमुखी गाउँपालिकाले पनि रोजगार कार्यक्रम शुरु गरेको छ । कार्यक्रममार्फत वडा नं १ र २ मा योजनाको काम सकिएको तथा अन्य वडामा काम सञ्चालन भइरहेको रोजगार संयोजक निरज पाण्डेले बताउनुभयो । कार्यक्रममार्फत गोरेटो बाटो, नाली, पर्खाललगायत काम भएको उहाँको भनाइ छ ।

 

त्यस्तै सरुमारानी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको र काम शुरु हुने चरणमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताउनुभयो । ऐरावती गाउँपालिका पनि रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । पालिकाले रु १० लाख बजेटबाट ३४ योजना छनोट गरेको रोजगार संयोजक विनोद त्रिपाठीले बताउनुभयो ।झिमरुक गाउँपालिकामा पनि सो कार्यक्रमका लागि रु २५ लाख बजेट छ । लकडाउन केही खुकुलो भएमा सञ्चालन गर्ने योजना रहेको पालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो ।

 

मल्लरानी गाउँपालिकाकाले पनि पाँच वटै वडामा पाँच योजनाको काम सुरु गर्ने तयारीमा छ । सडक र विद्यालय भवन निर्माण,नदी नियन्त्रणलगायत काममा सहभागी हुने रोजगार संयोजक अनिल भट्राईले बताउनुभयो । उता स्वर्गद्वारी नगरपालिकाले भने योजनाका काम छनोट भई काम शुरु हुने चरणमा रहेको जनाएको छ । नगरमा गोरेटो बाटो र सिंचाइ कुलो निर्माणको काम हुने छ । सो का लागि रु १९ लाख बजेट विनियोजन भएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय