ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम गर्ने अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । यसअघि गाउँपालिकाका ८ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकिएको अवस्थामा बिहिवार पालिकास्तरमै घोषणा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८२र०८३ मा राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार तोकिएका सबै खोप समयमै प्राप्त गरेका १६ देखि ५९ महिनासम्मका बालबालिकाको विवरण प्रमाणीकरण गरी नौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

त्यसैगरी घोषणा कार्यक्रमको अवसरमा मातृ तथा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत सम्पूर्ण प्रोटोकल पूरा गरेका बालबालिकाका अभिभावकलाई सम्मान गरिएको थियो । सुरक्षित मातृत्व, नियमित स्वास्थ्य परीक्षण, संस्थागत सुत्केरी सेवा, खोप तथा पोषण सम्बन्धी मापदण्ड पूरा गर्न सहयोग पुर्‍याउने अभिभावकको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा मातृ स्वास्थ्य तथा शिशुको स्वास्थ्य सुरक्षाका लागि गाउँगाउँमा पुगेर अहोरात्र सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा सहयोग र सचेतना फैलाउन योगदान पुर्‍याउने नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । वक्ताहरूले पूर्ण खोप, सुरक्षित मातृत्व र बाल स्वास्थ्य सुधारका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरम बहादुर जि।सी।ले नौबहिनी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर उदाहरणीय काम गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले पालिकाभित्रका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्न गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि।सी।को प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय