नौबहिनी गाउँपालिकामा स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना, नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग तथा मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाडौंको प्राज्ञिक संयोजनमा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा भाषाविद तथा प्रज्ञा प्रतिष्ठानका सदस्य डा. विष्णु कुमार सिंजाली मगर, भाषविद तथा नेपाल मगर संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष जीवन प्रवेश रोका मगर, नेपाल मगर संघ केन्द्रिय समितिका सल्लाहकार भोज बिक्रम बुढा मगर लगायतले मगर समुदायको इतिहास सङ्गै पाठ्यक्रम निर्माण सम्बन्धि योजना र कार्यान्वयनका बारेमा जानकारी दिनुभएको थियो । यस्तै गोष्ठीमा उपस्थित शिक्षक, विद्यार्थी तथा राजनैतिक व्यक्तित्वहरुले मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पालिकाले पाठ्यक्रम निर्माण गर्न थालिएको अभ्यासमा सकारात्मक सुझाव दिनुभएको थियो ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष राजु पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका सदस्य सुशील बुढा मगरले गर्नुभएको थियो ।








