ट्रेन्डीङ्ग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले राष्ट्रिय टिमको ट्रेनिङ शुरु गर्नको लागि सरकारको अनुमतिको पर्खाइमा रहेको बताएका छन् । क्यानको शनिवार बसेको भर्चुसअल मिटिङबाट असारको तेस्रो सातादेखि ट्रेनिङ शुरु गर्न पहल गर्ने सहमति भएको थियो ।

कोरोनाभाइरस महामारीले गर्दा गत चैतयता नेपाली खेलकुद गतिविधि पूर्णरुपमा ठप्प नै छ भने खेलाडीहरुले ट्रेनिङ गर्न पाएका छैनन् ।

‘यदि सरकारले अनुमति दिए असार १५ पछि सिनियर टिमको ट्रेनिङ शुरु गर्ने हाम्रो सहमति भएको छ,’ अध्यक्ष चन्दले अनलाइनखबरसंग भने, ‘अब कति जनालाई ट्रेनिङ गर्ने स्वीकृति पाउँछौँ त्यसैअनुसार गर्छौ । हाम्रो चाहना २०-२२ जना खेलाडीलाई बोलाउने हो, कम्तीमा पनि १८ जना त हुनुपर्‍यो ।’ खेलाडीहरुलाई सामाजिक दूरी कायम गराएर आईसीसी र सरकारको गाइडलाइन्स अनुसार ट्रेनिङ गरिने चन्दले बताए ।

कोरोना महामारिपछि विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत टेष्ट च्याम्पियनसिपदेखि क्रिकेट विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिजहरु स्थगित गरेको थियो । यस्तै विभिन्न द्वीपक्षीय सिरिजहरु समेत रोकिएका छन् ।

कोरोना महामारीपछि सुरक्षित उपाय अपनाएर केही देशले ट्रेनिङ शुरु गरिसकेका छन् । इंग्ल्याण्ड र वेष्ट इन्डिज बीचको टेष्ट सिरिज आगामी जुलाई ८ तारिखदेखि गर्ने इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले प्रस्ताव समेत गरिसकेको छ । त्यसका लागि दुवै टोलीले प्रशिक्षण शुरु गरिसकेका छन् । यस्तै वेष्ट इन्डिजले १४ सदस्यीय टोली घोषणा गरिसकेको छ भने इग्ल्याण्डले पहिलो चरणमा ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

टेष्ट राष्ट्रहरु अष्ट्रेलिया, श्रीलंका र अफगानिस्तानले पनि आईसीसी सरकार र स्वास्थ्य मन्त्रालयको नियम पालना गर्दै प्रशिक्षण शुरु गरिसेका छन् । एसोसिएट राष्ट्र मलेसियाले साताअघि नै ट्रेनिङ सुरु गरिसकेको छ । अर्को एसोसिएट राष्ट्र युएईले पनि राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरिसकेको छ ।

आईसीसीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र लोकल म्याचलाई मध्यनजर गर्दै विभिन्न चार चरणमा ट्रेनिङ गर्न सक्ने गरी गाइडलाइन्स पनि सार्वजनिक गरिसकेको छ । त्यही गाइडलाइन्स र सरकारको नियम पालना गर्दै अन्य देशले खेलाडीको प्रशिक्षण शुरु गरेका हुन् ।

क्यान पनि त्यसैगरी खेलाडीको प्रशिक्षण गर्नका लागि अहिले सरकारको निर्देशिका पर्खिरहेको छ । ‘हामी सरकारको गाइडलाइन्स कुर्दै छौँ । आईसीसीको भन्दा पनि अहिले सरकारको गाइडलाइन्स चाहिएको छ,’ क्यान अध्यक्ष चन्दले भने ।

क्यान अध्यक्ष चन्दले उमेर समूह र महिला टिमको प्रशिक्षणबारे भने अहिले नसोचेको बताए । ‘उमेर समूहका लागि असारमा प्रशिक्षण गर्नेबारे सोचेको छैन । सायद दुई सातापछि फेरि अनलाइन मिटिङ हुन्छ अनि त्यसमा छलफल गर्नेछौँ,’ चन्दले थपे, ‘अब मनसुन पनि सुरु भयो । उमेर समूह र महिला टिमको प्रशिक्षण अलि ढिला हुन सक्छ ।’ लकडाउनका कारण आईसीसीको अफिस समेत भर्खर खुल्न थालेको र सबै प्रशिक्षण व्यवस्था गर्न पैसाको आवश्यक पर्ने चन्दले बताए ।

यस्तै लकडाउनका बेला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्ने काम भने भइरहेको छ । अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय प्रतियोगिता सेप्टेम्बर यता हुने सम्भावना कम रहेको पनि बताए । ‘कामदारलाई तलब पनि दिइरहनुपर्छ । त्यसैले किन खाली बस्ने भनेर सामाजिक दूरी कायम गर्दै फुर्सदमा मैदानको काम भइरहेको छ,’ चन्दले भने ।

खेलाडीको तलब १० हजारले बढाउन प्रस्ताव

कोरोना महामारीका कारण नेपालमा गत चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको थियो । अहिले जेठ ३२ गतेसम्मका लागि लकडाउन अवधी कायम छ । त्यसपछि लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गर्नेबारे उच्चस्तरीय समिति निरन्तर छलफलमा छ । तर कुनै टुङ्गो लागेको छैन ।

खेलकुद क्षेत्रलाई पनि विस्तारै खुल्ला गर्नेबारे पहल भइरहेको चर्चा चलेपनि अहिलेसम्म युवा तथा खेलकुद मन्त्रालय र खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदले कुनै निर्णय गरेको छैन । क्यान अध्यक्ष चन्दले राखेप सदस्य सचिव रमेश सिलवालसँग यसबारे छलफल गर्नेसमेत बताएका छन् ।

यस्तै शनिवारको क्यान बैठकले राष्ट्रिय टिमका खेलाडीहरुले २०१९ यता पाउन बाँकी तलबमा १० हजारले वृद्धि गरेर पठाउन आईसीसी समक्ष प्रस्तावसमेत गरेको छ । अहिलेसम्म खेलाडीहरुले तीन तहको तलब पाउँदै आएका छन् । जसअनुसार ए ग्रेडमा रहनेले ३५ हजार, बी ग्रेडमा रहनेले २५ हजार र सी ग्रेडमा रहनेले १५ हजार पाउँदै आएका थिए ।

क्यानले पनि अब पुरुषतर्फ २४ खेलाडी समावेश गर्दै सेन्ट्रल कन्ट्रयाक लिस्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस्तै पहिलो पटक महिला क्रिकेटरको पनि सेन्ट्रल कन्ट्याक हुँदैछ र त्यसमा १८ खेलाडी समावेश हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय