ट्रेन्डीङ्ग

गिरुप्रसाद भण्डारी,

प्यूठान — ५३ वर्षअघि स्नातक अध्ययन पूरा गरे । सरकारी जागिरमा प्रवेश गरेको भए खुरुखुरु पेन्सन बुझ्थे । प्रशस्त धन हुन्थ्यो । उनी तत्कालीन व्यवस्थासँग झुकेनन् । प्युठान नगरपालिका–७, पुण्‍यखोलाका ८२ वर्षीय विद्याधर थापा ०१० सालमा मुक्ति मावि रातामाटामा कक्षा ८ पढिरहेका बेला कम्युनिस्ट पार्टीको पहिलो प्रशिक्षणमा सहभागी भए । त्यहीँ कम्युनिस्ट आदर्श सिके । त्यसपछि सम्पत्तिमोह जागेन । त्यसयता कम्युनिस्ट आदर्शबमोजिम सादा जीवन बिताइरहेका छन् ।

प्युठान नगरपालिका–७, पुण्यखोलाका ८२ वर्षीय विद्याधर थापा । तस्बिर : गिरुप्रसाद/कान्तिपुर

पुर्ख्यौली दुई रोपनी खेतबाहेक जोडेनन् । त्यही खेत तीन छोरालाई भागबन्डा गरे । अहिले झिमरुक फाँटमा १ मुरी फल्ने खेत उनको नाममा छ । आजीवन मसालको राजनीति गरेका उनले लाभको पद कहिल्यै चाहेनन् । एक समय जिल्ला मसालको गढ थियो । चाहेको भए लाभको पदमा पुग्न सक्थे । उनले त्यस्तो चाहना देखाएनन् ।

 

पार्टी सदस्यता लिँदा सर्वहारा वर्गको हितमा काम गर्ने शपथ खाएकाले त्यही अनुसार जीवनभर राजनीति गरेको उनले बताए । ‘अहिलेका कम्युनिस्ट वर्ग समन्वय गर्न खोज्छन्,’ उनले भने, ‘हामी वर्गसंघर्षबाट सर्वहाराको नेतृत्व हुनुपर्छ भन्छौं ।’ कम्युनिस्टको चरित्र अहिले पुँजीपति वर्गको जस्तो रहेको उनले बताए । ‘कम्युनिस्ट पार्टी सदस्य हुँ भन्ने तर आचरण पुँजीपतिको भन्दा भड्किलो हुन्छ,’ उनले भने, ‘यस्तालाई कम्युनिस्ट भन्दिनँ ।’ जातीय आधारमा ठूलोसानो हुँदैन भनेर दलितसँग सहभोज गर्दा उनले एक्लिनुपरेको सुनाए । त्यसले विचलित भएनन् । ‘त्यस बेलाका प्रगतिशील विचार अहिले प्रमाणित हुँदै छन्,’ उनले भने । आफू सधैं मार्क्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधारमा अडिग रहेको उनले बताए । ‘यो बाटोमा विचलन नभए साम्यवादमा पुग्न सकिन्छ,’ उनले भने, ‘यसको सुरुको विन्दु नयाँ जनवादी क्रान्ति हो ।’

 

उनले ०१६ सालमा बनारसबाट एसएलसी उत्तीर्ण गरेका थिए । बनारस हिन्दु विश्वविद्यालयबाट स्नातकसम्म पढाइ पूरा गरे । पढाइ सकिएपछि मोहनविक्रम सिंह, मोहन वैद्य लगायतसित संगत गर्न थाले । पार्टीको काममा खटाएपछि शिक्षकका रूपमा रोल्पा, रुकुम, जाजरकोटसम्म पुगेको उनले बताए । रोल्पा र रुकुममा कम्युनिस्ट पार्टीको जग आफूहरूले बसालेको उनले सुनाए । ‘०३३ देखि ०३९ सालसम्म शिक्षकको भूमिकामा रुकुममा खटिएर पार्टीको काम गरेँ,’ उनले भने, ‘हामीले गठन गरेको पार्टी ठूलो भएर सत्तामा पुग्यो । तर, जनताले केही पाएनन् ।’ रुकुमको त्रिवेणी मावि रुघामा शिक्षकका रूपमा केही वर्ष बिताएको उनले बताए । त्यस बेला जनार्दन शर्मा, लोकेन्द्र विष्टलगायतलाई कम्युनिस्ट पार्टीको सदस्य बनाएको उनले बताए ।

०५७ देखि ०६४ सालसम्म पार्टीको पत्रिका बाँड्ने काम गरे । ‘बूढो मान्छेले पत्रिका वितरण गरेको देख्दा धेरैले छोड्नुस् भन्थे,’ उनले भने, ‘तर मैले छोडिनँ ।’ पार्टीले प्युठान नगरपालिकाका गाउँगाउँमा पार्टी सदस्यता नवीकरणको जिम्मा दिएकाले अहिले त्यसमै व्यस्त रहेको बताए । ‘छोराहरू वृद्ध हुनुभो, पार्टी छाड्नुस भन्छन्,’ उनले भने, ‘तर मन मान्दैन ।’ पार्टीमा लागेर समाजलाई के दिन सक्छौं भनेर सोच्नुपर्ने उनले बताए । ‘जीवनभर पार्टीमा लागेर के पाइस भन्छन्,’ उनले भने, ‘केही नपाए पनि यसैमा खुसी छु भन्छु ।’ आठ दशक पुग्दासमेत उनका युवा जोस छ । पार्टी संगठन गर्ने भनेपछि जहाँ पनि पुग्छन् । कान्तिपुर दैनिकमा फाल्गुन २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय