ट्रेन्डीङ्ग

काठमाडाैं । ‘भीरबाट खस्न लागेको गोरुलाई राम राम मात्र भन्न सकिन्छ तर काँध हाल्न सकिन्न’ भन्ने पुरानो उखान यतिबेला अन्नपूर्ण पोस्ट् दैनिकसँग कताकता मिल्न थालेको चर्चा त्यहाँ कार्यरत पत्रकारहरूले गर्न थालेका छन् । त्यहाँ कार्यरत पत्रकार कसैले कोरोना भाइरससँग संघर्ष गरेर फिल्डमै त कसैले घरैबाट नियमित काम गर्दै आएकाे बताउँछन् ।

 

२०७६ चैत महिनादेखि तलब नपाउँदा पनि पत्रकारले आफ्नो नियमित काम गर्दै आएका छन् । तर, मालिक, व्यवस्थापन  पक्ष भने  दुःखमा साथ दिने पत्रकारको विपक्षमा उभिएको गुनासाे प्राप्त भएकाे  छ । तैपनि पत्रकारले धैर्यता गुमाएका छैनन् । पत्रकारको यो धैर्यतालाई व्यवस्थापनले कमजोरीको रूपमा लिएको आभास भएको त्यहाँ कार्यरत पत्रकार बताउँछन् ।

लकडाउन सुरु भएको एक महिना बितेपछि व्यवस्थापनले प्रधानसम्पादक, सम्पादकलगायत सबै ब्युरोका प्रमुखहरूलाई बोलाएर जबर्जस्ती आधाभन्दा बढी तलब दिन नसकिने प्रस्ताव ल्यायो । त्यो प्रस्तावमा पत्रकारविरोधी प्रमुख कार्यकारी अधिकृत मानस घिमिरे र प्रधानसम्पादकका आकांक्षी अखण्ड भण्डारी र चिरञ्जीवी ढुंगानाले मात्र समर्थन जनाएको र प्रधानसम्पादकलगायत उपस्थित अन्य सबैले त्यो निर्णय उचित नभएको भन्दै आधा तलबपछि थप गरेर दिने सर्त हो भने मात्र मान्न  सकिने बताएको नाम बताउन नचाहने एक पत्रकारले बताए । तर, त्यही आधा दिने भनिएको तलब पनि आफूनिकटका पत्रकारहरूलाई मात्र  दिने गरिएकाले  विद्राेहकाे अवस्था उत्पन्न भएकाे पीडित श्रमजीवी पत्रकारहरू बताउँछन् ।

अन्नपूर्ण पोस्ट्को सम्पादकको भूमिकाबाट एक महिनाअघि नै जिम्मेवारीमुक्त गरिएका अखण्ड भण्डारीको सिफारिसमा उनीनिकटलाई मात्र तलब दिइएको पीडितहरू बताउँछन् । कोरोनाको अपडेट लिन नियमित टेकु जाने पत्रकार दिनेश गौतमले तलब नपाउने तर घर (धादिङ) पुगेर खेतीपाती गर्न थालेका सूर्य पाण्डेलाई कामै नगरी तलब हाल्न लगाउने
सम्पादक अखण्डको कुरा पत्याउने व्यवस्थापनले उचित काम गरेको मान्ने कि अनुचित ? भन्ने प्रश्न पीडित पत्रकारहरूले गरेका छन् ?

अख्तियार दुरूपयाेग अनुसन्धान  आयाेगका प्रमुख आयुक्त नवीन घिमिरेको छोरा भएकै नाताले मानस घिमिरेको दादागिरीको शिकार इमानदार पत्रकार मात्र होइन, मार्केटिङ, लेखा र वितरण विभाग भइरहनुपर्ने ? भन्ने प्रश्न जिम्मेवार पत्रकारले उठाइरहेका छन् । तर, मालिक रामेश्वर थापा कानमा तेल हालेर बसेका छन् भने व्यवस्थापनले पत्रकारहरूकाे प्रश्नको उत्तर दिन चाहिरहेको छैन ।

 

मालिकलाई मानसको लाचार छायाँ हुनुपर्ने त्यस्तो बाध्यता के होला ? अर्बपति मालिक  र  कराेडाैंपतिका बाबुका छोरा प्रमुख कार्यकारी अधिकृत भएको संस्थामा काम गर्ने पत्रकारलाई भोकभोकै राख्न खोज्ने नियत मालिक थापाले बुझ्नु पर्दैन ? ‘हुनेखानेले सधैं हुँदाखानेको शोषण गर्ने शैली पत्रकारले पनि भोग्नुपर्ने बाध्यता अन्नपूर्णकर्मीलाई परेको छ’ एक अर्का पत्रकार नाम नछाप्ने सर्तमा गुनासाे पाेखे  । ठूलो मान्छेको परीक्षा संकटका बेला हुन्छ भन्ने कुरा चरितार्थ भएको बताइन्छ ।

‘आज(२०७७ असारमा करार अवधि सकिन लागेका) हरिबहादुर थापा प्रधानसम्पादकको जिम्मेवारीमा छन्, उनलाई असहयोग गर्न यी हर्कत गरिएको हो कि भनेर  आशंका गर्ने हरू पनि छन्, व्यवस्थापन त्यो मान्न तयार छैन तर व्यवहार तदनुकूलका देखिन्छन्’ पीडित  पत्रकारले भने ।  ‘प्रधानसम्पादक थापालाई उद्धृत गर्दै ती पत्रकारले भने,‘ कसैलाई काखा र पाखा गर्ने शैली मलाई मन पर्दैन, मेरो नजरमा सबै पत्रकार बराबर हुन्, कसलाई तलब दिने/नदिने भन्ने हुँदैन । मेरा कारण व्यवस्थापनलाई अप्ठेरो परेको हो भने म जुनसुकै बेला छोड्न तयार छु,  पत्रकारको विपक्षमा हुने कुनै पनि निर्णय मलाई मान्य छैन ।’ ‘हो, उनको त्यही खरो स्वभाव र  चिप्लो, चाकडी  खोज्ने मालिक र  व्यवस्थापनलाई नपचेको हो’ एक अर्का पत्रकारले बताए ।

जिम्मेवारीमुक्त गरिएका अखण्ड भण्डारीले जे भन्छन् त्यसैलाई अन्तिम सत्य ठान्ने रामेश्वर थापाकाे नेतृत्वकाे व्यवस्थापन देख्दा ‘भीरबाट लड्न खोजेको गोरुलाई रामराम मात्र भन्न सकिन्छ’ भन्ने उक्ति चरितार्थ भएको देखिन्छ । ती भण्डारी पार्टी निकट पत्रकारलाई पनि फोन गरेर २०७७ असार १ देखि म नै प्रधानसम्पादक हुँ भन्दै हिंड्न थालेकाे चर्चा पत्रकारहरूले गरेका छन् ।

फेरि सुनिँदैछ, ३३ जना पत्रकारलाई २०७७ असार १ गतेदेखि बिदाइ गरिँदैछ । संकटको बेला पत्रकारलाई बिदाइ दिनुपर्छ भन्नेहरूको सल्लाह मान्ने व्यवस्थापनको मनमा हरि छैन ? सीईओ घिमिरे, लेखा प्रमुख कुमार पोखरेल र अखण्ड  भण्डारी अहिले दिनदिनै निकाल्ने पत्रकार र कर्मचारीको सूची बनाउँदै हिँडेकाे पत्रकारहरू बताउँछन् । ‘पत्रिकालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हिँड्नुपर्ने बेला यस्तो सूची बनाएर संस्थामा  मनपरी गरिरहेका घिमिरेको पछि लाग्ने मालिकलाई आफैंले लगानी गरेको संस्थाप्रति मायाँ रहेनछ भन्ने पुष्टि हुन्छ’ व्यवस्थापननिकट एक जिम्मेवारी कर्मचारीले  गुनासाे पाेखे ।

 

‘दिनरात खट्ने पत्रकारलाई दिने पैसा छैन भन्ने मालिकलाई संस्थाविरोधी गतिविधि गर्नेहरूलाई दिने पैसा कहाँबाट आउँछ ?’ ती कर्मचारी बताउँछन् । ‘लेखाप्रमुख पोखरेल, घिमिरे र भण्डारीले भनेअनुसार आफूनिकटका पत्रकार र कर्मचारीलाई बोलाएर खुसुखुसु पैसा दिइरहन्छन् । मालिकसँग पैसा छैन खातामा भनेर ढाँट्दै आएका छन्, तर मालिक त्यसैको लहलहैमा लागेर सबैलाई असहयोग गरेको भन्दै तीतो पोख्छन् ’ एक पत्रकारले बताए । जिल्लाका पत्रकारले २०७६  फागुनदेखि तलब पाएका छैनन् ।

 

दुई करोडको गाडी (अख्तियार दुरुपयोग अनुसन्धान आयोगको) चढ्ने तर २० हजार तलब खाने पत्रकारको पेटमा लात हान्न लगाउने सीईओको कुरा मान्न मालिक रामेश्वर थापा किन तयार भइरहेका छन् भन्ने प्रश्नको उत्तर सबै पत्रकारले चाहिरहेका छन् । पत्रकारलाई आधा तलब  दिनुपर्छ भनेर सिफारिस गर्ने अखण्ड भण्डारीले भोलि पत्रकारलाई कसरी काम लगाउलान् र पत्रिकारको उन्नति होला भनेर व्यवस्थापन सोचिरहेको छ त ?

तलब खुवाउन नसकेर मान्छे कटौती गर्न तम्सेका सीइओ घिमिरले भने आफ्नै मामाको सालो अशोक अधिकारीलाई आम्दानी तथा प्राप्ति विभागको प्रबन्धकमा मासिक झन्डै एक लाख रुपैयाँ खाने गरी हालै नियुक्त गरेका छन् । साँघु न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय