
नौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी.ले बिहिबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको साथै हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताउनुभएको थियो ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको शर्माले बताउनुभयो ।
पालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । प्रत्येक वडामा खोपमा प्रत्यक्ष सङ्लग्न स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । साथै सोही अवसरमा खबाङ्ग स्वास्थ्य चौकी र फोप्ली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरि सम्मान-पत्र समेत प्रदान गरिएको थियो ।