
जन्मेपछी मृत्यु अनिवार्य छ, तर कुनै मृत्यु नभएको भए भन्ने लाग्नु कल्पना गर्नु मात्र हो । मरण थरीथरीका हुन्छन् जुन भाग्य रेखाले लेखे बमोजिम । वास्तवमै मृत्युवरण चाहेर नहुने कुरामा दुईमत छैन । तथापि कुनै मृत्यु यस्तो हुन्छ जुन मृत्युुले सारा गाउँ भावविह्वल हुन्छ । स्वर्गीय क्याप्टेन नर बहादुर पुन मगर, जसको नाम काफी थियो, छ र रहिरहनेछ । भारतीय सेनामा कार्यरत नर बहादुर पुन २८ वर्ष सेवा गरेर २०४० सालमा अवकाश प्राप्त गर्नुभएको थियो ।
अवकाश प्राप्त पछि उहाँ एक सामाजिक व्यक्तित्वका रुपमा आफ्नो छबि कायम राख्नुभयो । २०४३ सालमा खबाङ गाउँ पञ्चायतका प्रधान बन्नुभयो । निरन्तर समाजसेवामा व्यतीत जीवनकालको दोस्रो पाइला भने राजनीतिक यात्रा तय गर्नुभयो । लगत्तै २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिनुभएको उहाँले २०४९ सालमा खबाङ गाविसमा एमालेको तर्फबाट गाविस अध्यक्ष पदको उम्मेदवार समेत हुनुभयो, तर छिनो मतले पराजय हुन परेको थियो । २०५४ सालमा पुनः स्थानीय निकायको निर्वाचन भयो । उक्त निर्वाचनमा फराकिलो मतका साथ गाविसको जननिर्वाचित गाविस अध्यक्ष हुनुभयो ।
निरन्तर समाजसेवामा उहाँको अतुलनीय योगदान रहदै आयो । २०६० सालदेखि नेकपा एमालेको जिल्ला सल्लाहकार परिषद् सदस्य रहेर पार्टीलाई सहयोग गरिरहनुभयो । लामो समय राजनीति र समाजसेवामै उहाँ सक्रिय रहनुभयो । २०७९ सालमा आएर उहाँ नेकपा एमाले प्रदेश सल्लाहकार परिषद सदस्यमा सिफारिस हुनुभयो । त्यसयता पनि २०७०, ०७४ र ७९ को आम स्थानीय निर्वाचनमा पार्टी र पार्टीको तर्फबाट मनोनीत उम्मेदवारहरुलाई विभिन्न तवरले सुझाव, सहयोग र सद्भाव दिइरहनुभयो । विविध प्रकारका चुनौतिलाई सामना गर्दै सामाजिक सेवामा निरन्तर समर्पित हुनुभयो । आज गाउँमा उहाँ एक असल अभिभावक र प्रेरणाका स्रोतका रुपमा उहाँ नगनिने कुरामा कुनै दुईमत छैन ।
उहाँका ४ भाइ छोरा मध्ये जेठो छोरा जितबहादुर पुन मगर पनि भारतीय सेनाको क्याप्टेन भएरै अवकाश प्राप्त गर्नुभयो । उहाँ पनि सामाजिक एवं राजनीतिक सेवामै कृयाशिल हुनुहुन्छ । बुबाको प्रेरणाले सामाजिक सेवामा समर्पित उहाँको स-परिवार हाल दाङ घोराहीमा बस्दै आउनुभएको छ । माहिलो र साहिलो छोरा पनि सामाजिक र राजनितिक पेसामा कृयाशिल रहनुहुन्थ्यो । भाग्यवश वैदेशिक रोजगारीका कारण हाल साहिलो छोरा पोर्चुगलमा हुनुहुन्छ भने जेठो छोरा र माहिलो छोरा बुबाको क्रिया गर्दैहुनुहुन्छ । कान्छो छोरा भने भारतीय सेनामा भर्ती भइ तालीम सकिएपछि आर्मिको कसम नखादै क्यान्सरका कारण ज्यान गुमाउनुभएको थियो ।
उहाँलाई गाउँका सबैजसोले एक शालीन, निष्ठावान र नैतिकवान सामाजिक व्यक्तित्वका रूपमा चिन्दछन । त्यसबेला अहिलेजस्तो सुविधा थिएन । बाटोघाटो पनि गोरेटो त्यसैमाथि निश्चित थिएन । सदरमुकाम पुग्नलाई दिनभर पैदल यात्रा गर्नुओअर्ने बाध्यता थियो । गाविस अध्यक्षमा निर्वाचित उहाँ जिल्लाकै उमेरले पाको अध्यक्ष हुनुहुन्थ्यो । त्यति कठिन समयमा पनि उहाँ विचलित नभई निरन्तर जनताका सेवाका खातिर लाग्नुभएको दिन जिवितै छन् । सोही देनकै कारण आज बुढ्यौली अवस्थामा पनि सर्वप्रिय व्यत्तित्वका रूपमा स्थापित हुनुहुन्छ ।
प्युठान जिल्लाको दुर्गम गाउँ खवाङ्गमा त्यसबेला यातायात, खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था दयनीय थियो । त्यस्तो अवस्थामा क्याप्टेन नरबहादुर पुनले भारतीय भूपू सैनिकको सहयोगमा आफ्नै पहलमा गाउँलेहरूको खुसी ल्याउन पानीको धारो बनाइदिनुभयो । त्यो गुन खवाङ्गवासीले अझै बिर्सिएका छैनन् । खवाङ्गका धेरै स्थानमा विद्यालयहरू खोल्न पहल गरि शिक्षाको उज्यालोबाट वञ्चित कलिला बालबालिकाहरूले पठनपाठन गर्न पाउने भएका थिए । गाउँमा मिलको कुटानी पासानी मिल समेत थिएन । अन्नपात कुटाउन, पिसाउन बहाने, अँधेरी खोला धाउनुपर्ने बाध्यता थियो । उहाँले गाउँघरमा मिल खोल्न पहल गर्नुभयो, गाउँलेहरू खुसीले गदगद भएका थिए ।
चौरासी पूजा समेत गरिसक्नुभएका क्याप्टेन नर बहादुर ऊर्जावान् नै हुनुहुन्थ्यो । तर क्यान्सरका कारण २०८१ फागुन २० गते बिहान करिब १०:५५ मा उहाँ देहावसान हुनुभयो । उहाँको देहावसानले यतिबेला गाउँ नै भावविह्वल भएको छ । स्तब्ध भएको छ । उहाँजस्ता प्रेरणादायी व्यक्तित्वहरू प्युठानको राजनीतिक र सामाजिक हिसाबले सिंगो समाजका लागि सदैव सम्मानित र आदरणीय नै मान्नुपर्दछ । अलविदा स्वर्गीय क्याप्टेन नर बहादुर पुन मगर । तपाईको प्रेरणाले कैयन व्यक्तिको मुहार फेरिनेछ । पुनः हार्दिक श्रद्धाञ्जली ।