
प्युठान उद्योग वाणिज्य संघ नौबहिनी बजार क्षेत्रको १७ औं साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार नौबहिनी गाउँपालिकाको कृषि विकास सभाहल बहानेमा सम्पन्न अधिवेशनले रमेश बहादुर के. सी. को नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा महेश थापा, सचीव कृष्ण बहादुर के. सी., कोषाध्यक्ष मनिषा पुन मगर, सदस्यहरुमा मन बहादुर सुनार, हुमा के. सी., धनिराम बुढा मगर र सुरेश के. सी. सर्वसम्मत चयन हुनुभएको छ भने जिल्ला प्रतिनिधि ईश्वरी प्रसाद रिजाल चयन हुनुभएको छ ।
अधिवेशनको पुर्व सन्ध्यामा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले संघको सचिवालय भवनको शिलान्यास समेत गर्नुभएको छ । अधिवेशनकै अवसरमा नौबहिनी गाउँपालिका-६, बहाने निवासी सफल व्यवसायी तथा अगुवा समाजसेवी खिम बहादुर के. सी. (शंकर) र सकुन्तला के. सी. दम्पतीले सचिवालय भवन निर्माणका लागि नगद रु. ५० हजारका साथै करिब ३५ लाख बराबरको जग्गा दान गर्नुभएको छ । साथै के. सी. दम्पतीले जग्गा धनिको लालपुर्जा समेत संघका अध्यक्ष विष्णु बहादुर के. सी. लाई हस्तान्तरण गर्नुभएको छ । संघले के. सी. दम्पतीलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।
कार्यक्रमको अवसरमा अनुसन्धानकर्ता तथा अगुवा राजनीतिज्ञ डा. भोज बिक्रम बुढा मगरलाई समेत संघले सम्मान गरेको थियो । साथै कार्यक्रममा सचिवालय भवन निर्माणका लागि ५ हजार भन्दा माथी आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको थियो । भने अन्य सहयोगी दाताहरुलाई फेरि एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्ने संघले जानकारी दिएको छ ।
शुभकामना मन्तव्य राख्दै विशेष अतिथिका रुपमा रहनुभएका प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले संघको तर्फबाट नगद रु. १ लाख र व्यक्तिगत रुपमा नगद रु. २५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । साथै स्थानीय सरकारले समेत हातेमालो गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभएको थियो ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथिका रुपमा रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले संघको गरिमाका निम्ति सरकारको भुमिका सकारात्मक रहने बताउनुभएको छ । हाल व्यवसायीहरु मारमा परेको कुरालाई औल्याउँदै सचिवालय भवन निर्माणमा मात्र नभई व्यवसायीहरुको हितमा सरकार कुनैपनि कुरामा सहकार्य गर्ने बताउनुभएको छ ।
प्युठान उद्योग वाणिज्य संघ नौबहिनी बजार क्षेत्रका पुर्व अध्यक्ष तथा सफल व्यवसायी शंकर के. सी., अनुसन्धानकर्ता तथा राजनीतिकर्मी डा. भोज बिक्रम बुढा मगर, उद्योग वाणिज्य संघ प्युठानका पुर्व अध्यक्ष माधव भण्डारी, नौबहिनी गाउँपालिकाका संस्थापक अध्यक्ष शिवराज रिजाल, नौबहिनी गाउँपालिकाका संस्थापक उपाध्यक्ष घन बहादुर बुढा (सचिन), होटल व्यवसायी संघ बहाने इलाका अध्यक्ष मधु घिमिरे, कम्युनिस्ट पार्टी नेपाल नौबहिनी गाउँपालिका इन्चार्ज टोम बहादुर घर्ती मगर (सागर) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्युठान उद्योग वाणिज्य संघ नौबहिनी बजार क्षेत्रका अध्यक्ष विष्णु बहादुर के. सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर के. सी. ले गर्नुभएको थियो ।