ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-४, खबाङ प्युठानमा मंसिर १८ गते सोरठी प्रतियोगिता सञ्चालन हुने भएको छ ।
मगर समुदायको चर्चित र ऐतिहासिक भूमे पुजा/पर्वको दिन कला, संस्कृतीको जगेर्ना र संरक्षण गर्ने उद्देश्य सहित भूमे बराह विकास मञ्चले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
सोही दिन विकास मञ्चले खुल्ला नृत्य प्रतियोगिता समेत सञ्चालन गर्ने कार्यक्रम संयोजक मिलन घर्ती मगरले बताउनुभएको छ ।

सोरठी तर्फ विजेता हुने समुहलाई प्रथम, द्वितीय र तृतीय क्रमशः १५, १० र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । भने नृत्य तर्फ प्रथमलाई नगद रु. ५ हजार, द्वितीय र तृतीयलाई क्रमश ३५ सय र २५ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । दुवै प्रतियोगितामा सहभागी प्रतियोगिहरुले नि:शुल्क भाग लिन पाउने छन् भने सोरठी प्रतियोगितामा सबै सहभागी समुहहरुलाई समेत सम्मान स्वरुप नगद रु. ३/३ हजारका दरले पुरस्कार प्रदान गरिने साथै प्रमाणपत्रको समेत व्यवस्था गरिएको संयोजक घर्ती मगरले बताउनुभएको छ ।

संक्षिप्त्त परिचय :
भुमे पुजा/पर्व :-
मगर समुदायको चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, प्युठान, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ । भूमे पूजालाई कतिपयले (विशेष गरेर नेपाली भाषीहरूले) बलपूजा भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिन्ने र मान्ने गर्दछन ।

भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो । खाम क्षेत्रका मगरहरू कुनै देवी देवताको भन्दा आफ्ना पुर्खा र प्रकृतिको पूजा गर्दछन । भूमी बराह, सिद्ध बराह आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन् । हरेक वर्ष वर्षा ऋतु लाग्नुभन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ । वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउने गरिन्छ र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला समेत लाग्ने गर्दछ त्यसकारण यस भूमे पर्वलाई कतिपयले भूमे मेला भन्ने गर्दछन । अन्न जोगाउन खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ । खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन् । त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ।’ बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन मगर समुदायको एक विशेषता हो । बर्सेनि असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्वका रुपमा विशेष महत्त्वका मान्ने प्रचलन छ ।

सोरठी नाच :-
सोरठि नाच नेपालको एक परम्परागत ऐतिहासिक नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने मगर र गुरुङ समुदायमा निकै प्रख्यात रहेको छ । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरू सगँ सम्बन्धीत भएकाले सोह्रवटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । दिनभरको थकान मेट्न, मनको भावना पोख्न सोरठी नृत्य गर्ने प्रचलन रहेको पाइन्छ । समाजमा सानो/ठुलो जातजाति, धनि/गरिब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठी नाचले समाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले गर्दा यो लोकप्रिय नाच पुस्तान्तरण नभएको पाइन्छ । तथापि मौलिक लोकलयमा आधारित सोरठी नाच पौराणिक तथा ऐतिहासिक कथाहरू समेटेर विविध लय र तालमा मारूनी सहित गाउँने र नाच्ने गरिन्छ । सोरठी नाच हेर्दा मारूनी नाच जस्तै देखिन्छ । सोरठी नाचमा पनि मारूनी नाच जस्तै मादले, मारूनी र पुर्सिङ्गे हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय