स्थानीय रुपमा बिभिन्न स्थानहरुको नामाकरण गरीने विषय ऐतिहासिक छन् । प्यूठानमा अधिकांस स्थानहरुको नाम मगर भाषामा राखिएको विषयमा पङ्तिकारको यसअघि लेख आएको थियो । आज हामी प्यूठानमा कोट जोडिएर नामाकरण गरीएका स्थानहरुको चर्चा गर्दैछौं ।
प्यूठानमा कोट जोडिएर राखिएका नामहरु चर्चित छन् । जस्तै भित्रिकोट, माझकोट, उदयपुरकोट, रस्पुरकोट, बिजुलीकोट, नारीकोट, तुषाराकोट, बादिकोट, ओखरकोट, गढिकोट, सरङ्कोट, भिंगृकोट, लुङसराकोट, तापाकोट, खर्काचौरकोट, चुँजाकोट, धनकोट, पाङ्कोट, सजिकोट, मरन्ठानाकोट, चुँजाकोट, पत्राकोट, सिउतेकोट, खैराकोट, बरौलाकोट, लिपकोट इत्यादि ।
प्यूठानमा कसरी नाम रह्यो
बिभिन्न स्थानका कोट जोडिएर राखिएका नामहरु अधिकांस पहाडको चुचुरो हुन् । बाइसी चौबिसे राज्यका पालामा राखिएका यी नामहरु सिमा सुरक्षाका हिसावले सुरक्षित स्थानका रुपमा रोजेको देखिन्छ । अहिले पनि यी स्थानहरुमा सैनिकहरुले सुरक्षा तालिम समेत यीनै स्थानमा गर्ने गरेका छन् । ‘कोट’ शब्दको ऐतिहासिकता बारे पङ्तिकारबाट खोज गर्ने प्रयास गरिएको छ ।
‘कोट’ शब्दको ऐतिहासिकता
संस्कृत शब्द ‘कोट’ का धेरै अर्थ रहेका छन् । तीमध्ये पहाडको चुचुरोलाई बुझाउने ‘कूट’ शब्दबाट प्राकृत हुँदै ‘कोट’ शब्द आएको कुरा प्रा.बालकृष्ण पोखरेलबाट बताइएको छ ।
‘कोट’ मूलतः राज्यको सीमा-सुरक्षा निमित्त बनाइएको किला वा दुर्ग हो । यस बाहेक उच्च चुचुरोमा रहेको स्थल विशेष पनि हो । त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण हो । जसलाई ‘दुर्ग’ पनि भनिन्छ । ‘दुर्ग’ का किसिम वा प्रकार धेरै बताइएका छन् ।
राष्ट्रको सवलता र व्यवस्थित सुरक्षाको निम्ति लिच्छविकालमा कोट्ट (कोट) को रूपमा विभिन्न दुर्ग स्थलहरू बनाइएको ऐतिहासिकता छ । जसको व्यवस्थापन एवं संरक्षण निम्ति ‘कोट्ट नायक’ पद निर्धारण गरिएको थियो ।
लिच्छविकालिक अभिलेख प्राप्त कोट्ट (कोट) को अध्ययनबाट थाहा हुन्छ (त्यति खेरका कतिपय कोटहरूको सीमा ठूलो बुझिन्थ्यो र त्यसको परिपालन, नीति नियम निश्चित थियो ।
विस्तृत एरिया (क्षेत्र) लिएका ती कोट भित्र निर्धारित बस्ती बसाइएको पाइनुका साथै त्यहाँ खेती पाती समेत गरिन्थ्यो । अनि स्थिति बन्देजको मर्यादा कायम गर्न, व्यवस्थित नियम अपनाउन र नियम व्यवहारमा ल्याउन ‘कोट्ट मर्यादा’ कायम गरिएको बुझिन्थ्यो भन्ने कुरा धनबज्र बज्राचार्यले ‘लिच्छविकालका अभिलेख’ पुस्तकमा उल्लेख गरेका छन् ।
यसरी नेपाली जनजीवनमा ‘कोट’ (कोट्ट) को ऐतिहासिकता पुरानो देखा परे पनि यहाँ ‘कोट’ को विशेष चलन वा व्यवहारिक विकास बाइसे-चौबीसे राज्यकाल (१५ औँ शताब्दीतिर) बाट हुन पुगेको देखिन्छ ।
यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरीबाट संरक्षित हुन आफ्नो मूलथलो (राजधानी) का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ ‘कोट’ मा राजदरबार-गढी बनाउने परम्परा निकै चलेको, लोकप्रिय बनेको बुझिन्छ । फेरि कतै कतै मौसम अनुकूल वर्षे र हिउँदे अर्थात् गर्मी र जाडो समय मिलाई कोट र बेँसीमा राजदरबार पनि बन्न पुगे ।
यसप्रकार ‘कोट’ शब्दार्थको व्यवहारिकता विस्तारित हुँदै गयो र ‘कोट’ डाँडो वा पर्वतको चुचुरो भन्ने अर्थमा मात्र सीमित नभई नेपालका महत्वपूणर् बस्तीहरूमा समेत जोडिन पुग्यो । यसरी हेर्दा ‘कोट’ शब्द नेपाली लोकजीवनमा निकै जनप्रिय बनी प्रचलित हुन पुगेको यथार्थ अनुभूत हुन्छ ।
साभार : विकिपिडिया, प्रा.बालकृष्ण पोखरेलको पुस्तक लगायत बिभिन्न सन्दर्भ ग्रन्थबाट ।