
नौबहिनी गाउँपालिकामा किटजन्य रोग (औलो, कालाजार र डेंगु) नियन्त्रणका लागि बहु निकाय अन्तरक्रिया एवं अभिमुखिकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नौबहिनी क्षेत्र भित्रका जनप्रतिनिधि, विद्यालय, उद्योग, होटल, रेडक्रस, स्वास्थ्य चौकी लगायत अन्य संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुसङ्ग औलो, कालाजार र डेंगु रोग नियन्त्रणका लागि अन्तरक्रिया एवं अभिमुखिकरण भएको हो ।
असार १५ (राष्ट्रिय धान दिवस / दहि चिउरा खाने दिन)को अवसरमा नौबहिनी गाउँपालिकाले रोग नियन्त्रणका लागि भनेर बजार क्षेत्र अनुगमन तथा जथाभावी फालिएका फोहोरलाई व्यवस्थित गरि खाडल अथवा निश्चित क्षेत्रमा फाल्न समेत आग्रह गरेको छ ।
नौबहिनी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले गर्नुभएको थियो भने गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत यशोदा वैद्यले सञ्चालन गर्नुभएको थियो ।
यी किटजन्य रोग (औलो, कालाजार र डेंगीु) सम्बन्धि जन्नैपर्ने केही तथ्यहरु पढ्नुहोस :-
औलो रोगका लक्षणहरु :-
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।
नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकन देशहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ।
औलोको रोकथाम र उपचार :-
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरेका छौं।
शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।
औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो। यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ। विशेषज्ञहरु अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन।
कसरी सर्छ कालाजार:-
यो रोगको कारक परजीवी लिस्मेनिया पोथी भुसुनाको टोकाइबाट कालाजार मानिसमा सर्छ। प्रायस् गर्मीयाममा साँझपख र राति भुसुनाहरु बढी सक्रिय हुन्छन्। लिस्मेनिया परजीवी कुकुरमा पनि पाइन्छ। संक्रमित कुकुरलाई टोकेका भुसुनाले मान्छेलाई टोक्दा पनि यो रोग सर्न सक्छ। संक्रमित रगत ट्रान्स्फ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा यो रोग सर्छ।
रोगका लक्षण :-
भुसुनाले टोकेपछि यो रोगका लक्षणहरु देखिन २–८ महिना लाग्छ।
दुब्लाउनु, कमजोर हुनु, खोकी लाग्नु, महिनौँ ज्वरो आउनु, जिउको रङ कालो हुँदै जानु, छाला खस्रो हुनु, रक्त अल्पता, राति पसिना आउनु, पेट फुल्नु, कलेजो तथा स्प्लिनको आकार बढ्नु, रगत बग्नु आदि कालाजार रोगका लक्षणहरु हुन्।
निदानः रगतको जाँच तथा हाडभित्रको मासी जाँच गरेर यो रोगको निदान गरिन्छ।
उपचारस् कालाजार उपचारबाट निको हुने रोग हो। एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन्।
बच्ने उपाय :-
कालाजार विरुद्ध अहिलेसम्म खोप उपलब्ध छैन। ‘भुसुनाको टोकाइबाट बच्नु नै रोगबाट बच्ने एक मात्र उपाय हो।’ यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छः
-लामो बाहुला भएको कमिज, लामो पेन्ट र मोजा लगाउने।
-भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्ने।
-साँझको बेला घरबाहिर नघुम्ने।
-यथासम्भव, माथिल्लो तलामा सुत्ने।
-झुल लगाउने। मच्छडभन्दा भुसुना साना हुन्छन् त्ययसैले झुलभित्र घुस्न सक्छन् भन्ने कुरामा ध्यान दिने।
-भुसुना नियन्त्रण गर्ने रासायनिक पदार्थ छर्किन स्वास्थ्य निकायलाई जानकारी गराउने।
-भुसुना फैलिन नदिन घर तथा घर वरिपरि सरसफाइमा ध्यान दिने।
डेंगीका मूख्य लक्षणहरू :-
-उच्च ज्वरो आउन,
-जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु,
-आँखाको गेडी दुख्नु,
-बेस्सरी टाउको दुख्नु,
-शरीरमा राता बिमिराहरू आउनु,
-वाकवाकी लाग्नु वा वान्ता हुनु,
डेंगीबाट बच्ने उपायहरू :-
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
-घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
-बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
-पूरै शरिर ढाक्ने लुगा लगाउने ।
पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।