ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिकाले रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकको गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शशर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारबाट समानिकरण अनुदान रु. ६७ लाख ४२ हजार, राजश्व बाँडफाँड तथा सवारी साधन कर समेत रु. ४४ लाख ९४ हजार ३ सय २६, सशर्त अनुदान विभिन्न कार्यक्रम तर्फ रु. ९२ लाख र समपुरक अनुदान तर्फ रु. ७० लाख बजेट गाउँसभामा सार्वजनिक गरेको हो ।

यस्तै गाउँपालिकाको वा. व. २०८०/०८१ मा अल्या हुने अनुमानित रु. १ करोड ५० लाख र आन्तरिक आय अनुमानित १ करोड बजेट समेत सार्वजनिक गरेको छ भने सामाजिक सुरक्षा भत्ता तर्फ १३ करोड ५० लाख बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पुर्वाधार तर्फ ४ करोड १० लाख, आर्थिक विकास अन्तर्गत पशु विकास तर्फ ३५ लाख ५० हजार, कृषि विकास तर्फ ५४ लाख, स्वास्थ्य तर्फ १ करोड ३८ लाख १३ हजार ६ सय, शिक्षा युवा तथा खेलकुद तर्फ ३ करोड ५५ लाख ५५ हजार, सामाजिक विकास तर्फ ३८ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पोषण कार्यक्रम अन्तर्गत ५ लाख र लघु उद्यम तर्फ ५ लाख तथा पञ्चेबाजा कार्यक्रमलाई निरंतरता दिन बाजा खरिदका लागि १ लाख ५० हजार बिनियोजन गरेको छ भने आयुर्वेद तर्फ पञ्चकर्म सम्बन्धि औषधि खरिद, स्वास्थ्य शिविर तथा अन्य सूचीकरण कार्यक्रम सञ्चालन र व्यवस्थापनमा लागि रु. १० लाख बजेट बिनियोजन भएको छ । यस्तै गाउँपालिकाले चालु खर्चतर्फ रु. १० करोड बजेट बिनियोजन गरेको छ ।

यस आर्थिक वर्षमा पशु विकास अन्तर्गत गाउँपालिकाले पशु स्वास्थ्य शिविर, दुधमा आत्मनिर्भर कार्यक्रम र बाख्रा प्रबर्द्धन कार्यक्रम तर्फ ५० प्रतिशत अनुदान, पशु बिमा कार्यक्रम, पालिका स्तरीय बन्ध्याकरण, उत्कृष्ट किसानलाई पुरस्कार वितरण, सुत्केरी भैंसी स्याहार कार्यक्रम तथा कृषकको उत्पादन गाउँ सरकारको अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कृषि विकास अन्तर्गत गाउँपालिकाले एक वाड एक उत्पादन, किसानसङ्ग प्रविधि कार्यक्रम, फलफुल खेती अध्ययन तथा विस्तार, व्यवसायीक मसला बाली उत्पादन, तरकारी मिनिकिट वितरण, धान, गहुँ तथा मकैको बीउ वितरण, किसानसङ्ग गाउँ सरकार, उपाध्यक्ष कोसेली, सडक बोर्ड म्याचिङ्, राष्ट्रपति शैक्षिक सुधार म्याचिङ् लगायतका कार्यक्रमहरुमा अनुदान सहितका कार्यक्रमहरु गर्ने भएको छ ।

स्वास्थ्य तर्फ बर्थिङ्ग सेन्टर, आँखा स्कृनिङ्ग तथा मोति बिन्दुको नि:शुल्क शल्यक्रिया, किशोर किशोरी कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा, पाथेघर खस्ने समस्या शिविर, दन्तरोग शिविर, विद्यालयमा रहेका किशोरीहरुमा रक्त परिक्षण लगायतका कार्यक्रमहरु गर्ने गरि बजेट वक्तव्य प्रस्तुत गरेको छ ।

शिक्षा तथा युवा खेलकुद तर्फ गरौं योग रहौ निरोग, युवा तथा युवतिहरुलाई लोक सेवा कक्षा सञ्चालन, कक्षा ५, ८ र १० का लागि उत्कृष्ट विद्यार्थी र विषयगयत शिक्षकहरुलाई पुरस्कार, सिकाई उपलब्धि बनाउनका लागि ४ देखि १० कक्षा सम्म मासिक परिक्षा गराउनका लागि विद्यालयलाई अनुदान लगायतका कार्यक्रमहरु गाउँपालिकाले गर्ने भएको छ । नौबहिनी भित्र रहेका बेरोजगारहरुको सूचीकरण गरि रोजगार श्रम बैंकको स्थापना गरि सिपका आधारमा रोजगारको व्यवस्था गर्ने भएको छ ।

यस्तै गाउँपालिकाले बालबालिका, किशोर/किशोरी, महिला ज्येष्ठ नागरिक, अपाङ्ग, लगायतका विविध कार्यक्रम गर्ने गरि आगामी २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय