ट्रेन्डीङ्ग

आदिवासी जनजाति पत्रकार महासंघ प्युठानले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको पत्रकार माग छ ।

फोनिजले ७ दिनभित्र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा नगरेमा नेपाल पत्रकार महासंघको केन्द्र सहित देशैभरका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने अल्टिमेटम दिएको छ ।

            ७ दिने अल्टिमेटम सम्बन्धमा ज्ञापन पत्र 

श्री अध्यक्ष ज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्य समिति, काठमाडौं ।
माफर्त,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान
                विषय : सातदिने अल्टिमेटम सम्बन्धमा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समिति मार्फत माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीति विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ । तसर्थ, ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ । हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द ्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौँ ।


                            स्मरणपत्र
                            ज्ञापनपत्र
नेपालका श्रमजीवि पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपालपत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलम चलाउन समेत नसकिने कहाली लाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मतर साहस गर्नुहुने सत्यनारायण बहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सम्मान व्यक्त गर्दछ ।
वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपालपत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हालअध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रूपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम हो ।
देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।
(२०७९ सालमा बुझाइएको ज्ञापन पत्र स्मरणका लागि पुनःबुझाइएको ।)

को हुन् श्रेष्ठ ?
सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।
उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय