ट्रेन्डीङ्ग

आजकल बच्चा वा केटाकेटीहरुको लागि टेलिभिजनका कार्यक्रमहरु नराम्रो नशा हुन पुगेका छन्। यो नशा बाल मनोविज्ञानको एउटा यस्तो पक्ष हो, जस्ले हरेक सवालमा निकै दु:खी बनाउने गर्छ अभिभावकहरुलाई। बिदाको दिनमा टेलिभिजनहरुको अगाडि बस्ने र रिमोट अनेकौ ठाउँमा लुकाएर निर्धक्कका साथ कार्यक्रमहरु हेर्ने बानी प्राय सबै घरका बच्चाहरुको भएको छ। स्कुलको गृहकार्य सकेर वा टेलिभिजन हेर्ने बहानामा चाडै र झारा टार्नेगरी गृहकार्य गरेरै भए पनि कार्यक्रमहरु हेर्ने सुर हरेक र प्राय जसो बच्चाहरुमा रहेको पाईन्छ।

 

केटाकेटीहरु स्वभावैले चल्ने, झगडा गर्ने र घरमै बसे पनि चलेर हैरान पार्ने स्वभाबका हुन्छन् र यो कार्यबाट पनि छुटकरा पाउन बाबु आमाहरु उनीहरुलाई टेलिभिजन देखाएर शान्त पार्ने र घरमै आफ्नो लागि समय निकाल्छन्। दिनभर काममा व्यस्त बाबु आमा घरमा हुने कामको लागि पनि आफ्ना बच्चा र केटाकेटीहरुलाई टिलिभिजन वा फिल्मको अगाडि थन्काएर आफ्नो काम निम्ट्याउछन् र कामै नभए पनि आफूलाई आराम गर्ने समय यसरी निकाल्छन् । एकातिर दिनभरी स्कुलमा गएर पढेर आएका आफ्ना बच्चाहरुलाई केही समय हास्न दिने र रमाईलो गर्न दिनैको लागि भए पनि हामी उनीहरुलाई यो अबसर दिन्छौ र उनीहरुलाई छोडिदिन्छौ। तर केटाकेटीहरुको यो तरिका र उनीहरुको टेलिभिजनसंगको झुकाबका बारेमा हामीले एक पटक राम्रो संग सोच्नै पर्छ।

 

केटाकेटीहरु सबै भन्दा बढी कुन कार्यक्रम हेर्छन् त भनेर कसैले सोध्यो भने वा जान्न चाह्यो भने सबै भन्दा बढी एउटै उत्तर आउछ, त्यो हो “कार्टुन”। कार्टुन हेर्दा जस्तो बच्चाहरुको अनुहारमा खुसी अरुमा सायदै हुदैन् तर कुन कार्टुन भन्ने चाहीँ ठ्याक्कै भन्न भने गाह्रो हुन्छ; कारण ठाउँ बिशेष र भाषा बिशेषमा भर पर्ने हुन सक्छ। त्यसो त केटाकेटीहरु कथा भन्दा पनि त्यसमा प्रयोग हुने हाउभाउमा बढी ध्यान दिएको पाईन्छ र कुनै फिल्म वा कुनै कार्टुनमा प्रयोग भएको दृष्यको नक्कल गर्नु र कथामा देखिए जस्तै कलाकार जस्तो बन्न खोज्नु र प्रयास गर्नु उनीहरुका लागि नौलो भने हैन। अझ प्रष्ट भन्नु पर्दा केटाकेटीहरुले कुनै पनि यस्ता दृष्यहरुले दिन खोजेका सन्देशलाई भन्दा त्यसमा देखाईएको हाउभाउलाई र पटक पटक एकनास संग प्रयोगहुने भाषा बा दृष्यको भने चाडै नै नक्कल गर्ने गर्छन्।

 

उदाहरणको लागि नेपाली टेलिभिजन कै कुरा गरौँ एक पटक। हाम्रो देशमा अहिले निस्केका र चलेका टेलिभिजन कार्यक्रमहरुमा हास्य ब्यङ्ग्यसंग सम्बन्धी कार्यक्रमहरु प्राय केटाकेटीहरुले कहिलै नछुटाईकन हेर्छन्। बाबु आमालाई थाह नहोला, आफ्नो स्कुलको कामको याद नहोला, खाना खाने बेलाको ज्ञान र सम्झना नहोला तर केटाकेटीहरुलाई कुन कार्यक्रम कतिबेला र कुन वार आउछ थाह हुन्छ र कार्यक्रम आउनु अगाडि रिमोट कब्जा गरेर बसिसेका हुन्छन। खुब मजा पनि लिएका हुन्छन् र खुब हास्छन् पनि यस्ता कार्यक्रमहरुबाट उनीहरु।

 

यस्ता कार्यक्रमहरुको राम्रो पक्षहरु थुप्रै होलान र यस्ता कार्यक्रमहरुमा देखाईएका ब्यङगहरु ठूला र बुझ्ने मानिसका लागि रमाईलो र यथार्थपरक होला तर कार्यक्रममा पटक पटक भनिने थेगो र उपमाहरुको असर केटाकेटीमा नराम्रै संग बढी परिरहेको हुन्छ।

 

तपाईहरु ख्याल गर्नु त कुनै कार्यक्रममा कलाकारले कुनै राजनैतिक कुरा भन्दा वा कुनै समाजको नराम्रो कुरामा प्रहार गर्दा नहाँसेको र कुनै पनि कुरा नबुझेको जस्तो गर्ने केटाकेटीको अनुहारमा “ प्वाक्क मुखमा हानु जस्तो” भन्ने दृष्य आयो भने एक प्रकारको नजानिदो हाँसो वा खुसी आउछ उनीहरुको अनुहारमा। त्यस्तै “लात्तीले ले हानेर बारीको पाटामा पुराईदिन्छु” “टीकी ट्यास ट्यास पारेर” “ ई कस्तेरी हास्छै म त मर्छुकि क्याहो” , “निष्चितरुपमा”, “ए राता मकै”, “हेर्दा देर्दै …….. खप्पराआ त लिएरै आएको रहेछ”, “म त छक्क पर्छु”, “परेको म बेहोरुला” आदि आदि।

कुनै पनि कार्यक्रममा प्रयोग हुने यस्ता भाषाहरुको नक्कल केटाकेटीले चाडै गरेका हुन्छन्। किनकि एउटै कार्यक्रममा पटक पटक भनिने, सुन्न र नक्कल गर्न सजिलो भएरै पनि होला, उनीहरु कार्यक्रम हेरीसके पछि पनि यसको प्रयोग लामो समय सम्म गर्ने गर्छन्। सबै त हैन तर कुनै कुनै यस्ता कार्यक्रममा प्रयोग हुने भाषाहरु, निश्चितरुपमा पनि नराम्रो असर पार्ने र सभ्य भाषाको श्रेणी भित्र पर्दैनन्।

 

आजकल कथा बस्तुमा ध्यान नदिएर कता कता उट्पट्याङ कुराहरुको संगालो जस्तो लाग्न थालेका छन् हाम्रा यस्ता कार्यक्रमहरु। सबै त हैन तर प्रायजसो कार्यक्रमहरु त्यस्तै प्रकारले बन्न थालेका छन् र हेरीसके पछि कथाले भन्न र दिन खोजेको राम्रो कुराको हेक्का कम हुने तर त्यसमा प्रयोगहुने भाषा र हाउभाउको नराम्रो असर भने केटाकटीमा लामो समय सम्म पनि परिरहेको हुन्छ र देखिन्छ। त्यसैले थेगो मात्र हैन, कथा भित्र बोलिने संबाद पनि उदेक र यस्तो धनी भाषालाई गरिब र कङ्गाल झै मानेर प्रयोग हुने गरेका संबादहरु सुन्दा कहिले काहिँ दिक्क लागेर पनि आउछ।

 

हामीले यस कुरामा हाम्रा केटाकेटीहरुलाई सहयोग गर्नै पर्छ। सहयोग गर्ने पर्छ भन्ने कुरा यो मानेमा कि, उनीहरुको लागि कुन कार्यक्रम ठिक र कुन बेठिक, कुन कुरा राम्रो र कुन कुरा नराम्रो भनेर छुट्याईदिनु पर्छ र यस्ता बौद्धिक बिकाश नहुने र बाल मष्तिष्कमा नराम्रो असर पर्ने खालका कुराहरुमा सरकारले नगरे पनि हामिले आफ्नै घरमा सेन्सर गर्नै पर्छ। आफुले समय निकालेर राम्रा र प्रेरणा दिने कार्यक्रमहरुलाई रेकर्ड गरेर वा किनेरै भए पनि दिनु पर्छ र टेलिभिजनमा हुने राम्रा र प्रेरणा दिने खालका कार्यक्रमहरुमा मात्र बढी जोड दिनु पर्छ।

 

यसो भनिरहदा टेलिभिजनका यी कार्यक्रमहरु र अन्य कार्यक्रमहरुमा भएका राम्रा पक्षहरु र अनेकौ सकरात्मक कुराहरुलाई भने भुल्नु हुदैन तर यो एउटा ठुलो समस्या भने पक्कै हो किनकि कसरी राम्रा कुरालाई मात्र छानेर दिने र बुझाउने भन्ने कुरा सजिलो र व्यावहारिक नहुन सक्छ। यसको लागि राज्यको सरोकार पक्ष र यस्ता कार्यक्रम बनाउने निर्माताहरुनै सजग भए सबैलाई सजिलो हुने थियो।

 

उदाहरणको रुपमा तलको भिडियो एक पटक हेर्नुस र बिचार गर्नुस। स्मरण रहोस मैले कुनै कार्यक्रम बिशेषलाई मात्र लक्ष गरको भने हैन है, सबैलाई चेतना भया……।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय