नेपाल क्वान्किदो सङ्घ, प्युठान जिल्लाको आयोजनामा प्रथम राष्ट्रिय क्वान्किदो च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ ।
खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्षम समाज निर्माण गर्ने उद्देश्यलाई आत्मसात गर्दै राष्ट्रियस्तरका खेलाडीहरूलाई एउटै मञ्चमा ल्याएर च्याम्पियनसिप सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रम क्वान्किदो सङ्घका जिल्ला अध्यक्ष प्रेम पुन मगरको अध्यक्षता तथा नौबहिनी गाउँपालिका अध्यक्ष दिलबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा देशका विभिन्न प्रदेशबाट आएका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले प्रतियोगितालाई राष्ट्रिय एकता, भाइचारा र खेल संस्कृतिको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापा मगरले खेलकुद युवाहरूको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्दै स्थानीय सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न आवश्यक सहयोग र अवसर उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले क्वान्किदो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा समेत टेवा पुर्याएको जनाएको छ । खेलकुदमार्फत युवाहरूलाई कुलत, हिंसा तथा सामाजिक विकृतिबाट टाढा राखी सकारात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि नौबहिनी गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने आयोजक टोलीको व्यवस्थापन क्षमता तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न भएपछि आयोजकले आगामी वर्षहरूमा पनि यस्ता राष्ट्रियस्तरका खेलकुद कार्यक्रमलाई निरन्तरता दिँदै खेल क्षेत्रको विकास, प्रतिभा पहिचान र स्वस्थ समाज निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।







