नौबहिनी गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिकहरूलाई लक्षित गरी स्याउलिबाङ्गमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
स्याउलिबाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा गाउँपालिका भित्रका जेष्ठ नागरिकहरूले आँखा परीक्षण तथा परामर्श सेवा लिएका छन् । शिविरमा आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण, उपचारका लागि परामर्श तथा आवश्यक औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बिजुवार, प्युठानले प्राविधिक सहयोग गरेको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
नौबहिनी गाउँपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ । शिविरबाट विशेष गरी नियमित स्वास्थ्य परीक्षणको पहुँचबाट टाढा रहेका जेष्ठ नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाले यस अघि बहानेमा शिविर सम्पन्न गरेको थियो ।

गाउँपालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहने जनाएको छ ।







