ट्रेन्डीङ्ग

तेजेन्द्र बुढा मगर (गौमुखी, प्युठान)

प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाको चुनावी अभियान गौमुखी गाउँपालिकाका विभिन्न वडामा उत्साहजनक सहभागितासहित तीव्र बनेको छ । तीन दिनसम्म निरन्तर घरदैलो, श्रद्धाञ्जली सभा, स्वागत तथा भेटघाट कार्यक्रम गर्दै उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको छ ।

 

श्रद्धाञ्जली सभामा सहभागी र भव्य स्वागत :

फागुन १० गते बिहान बाग्दुलाबाट यात्रा सुरु गरी झिमरुक–७ तुषारा निवासी नारायण जि.सी. प्रति श्रद्धाञ्जली अर्पण पश्चात् उम्मेदवार थापा गौमुखी प्रस्थान गर्नुभएको थियो । बिहान गौमुखी–५ ठूलावेसीमा घरदैलो कार्यक्रम सम्पन्न गरी गौमुखी–१ अर्तुबाङमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । गौमुखी–१ अर्खा लामीडाँडामा स्थानीय मतदाताले नौमती बाजासहित भव्य स्वागत गरेका थिए । सो अवसरमा स्व. रामचन्द्र बोहोरा प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । तेज बहादुर राना मगरको घरमा गुन्द्रुक–ढिँडोको आत्मीय आतिथ्य ग्रहण गर्दै उम्मेदवार थापाले स्थानीय संस्कृतिप्रति सम्मान व्यक्त गर्नुभयो ।

त्यसपछि अर्खा–रजवारा जोड्ने लुम्बिनी प्रदेशकै लामो झोलुङ्गे पुलमा फोटो–भिडियो खिच्दै टोली रजवारा पुगेको थियो । गौमुखी–३ रजवारामा मतदातासँग भेटघाट सम्पन्न भएको कार्यक्रममा हेम बहादुर बुढा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

पोखरा र ढ्वाक क्षेत्रका मतदातासँग भेटघाटपछि राति १० बजे जोखिमपूर्ण कच्ची सडक पार गर्दै ढाँडखानी पुगेर मतदाताका गुनासा प्रत्यक्ष सुन्नुभएको थियो । त्यसपछि राति ११ बजे पुनः ठूलावेसी प्रस्थान गरिएको थियो ।

 

पुजा, काफलबासदेखि लिबाङसम्म घरदैलो तथा भेटघाट :

फागुन ११ गते बिहान गौमुखी–४ पुजा, काफलबासमा मतदातासँग भेटघाट गरिएको थियो । कार्यक्रममा सल्लाहकार परिषद सदस्य हरि बहादुर के.सी. तथा भारत प्रवास कमिटीका केन्द्रिय सल्लाहकार परिषद सदस्य रिम बहादुर मल्लको सहभागिता रहेको थियो । उहाँले सूर्य थापा सहित एमालेका उम्मेदवारहरुलाई जिताउ भन्न नेपाल आएको बताउनुभएको थियो ।

दिउँसो पुजा खोलाबाङ, मष्टथान, डाँडाकटेरी हुँदै गौमुखी–६ लिबाङमा घरदैलो तथा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । हालसम्म ४५ वडामा उत्साहजनक कार्यक्रम सम्पन्न भएको छ ।

 

जनसमर्थन र पार्टी प्रवेश :

फागुन १२ गते गौमुखी–५ खुङ्ग गैरी कतेरिमा चुनावी भेटघाट सम्पन्न गरिएको थियो । त्यसपछि दशमुरेमा आयोजित कार्यक्रममा नेकपा मसालबाट निर्वाचित वडा अध्यक्ष बरुण ध्वज मल्लले “जनताको आवाज सुन्ने प्रतिनिधि”का रूपमा सूर्य थापालाई जिताउन आग्रह गर्नुभएको थियो ।

गौमुखी–७ नारिकोटमा नौमती बाजासहित उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ७ जना नेकपा एमालेमा समाहित भएका थिए । उम्मेदवार थापाले स्व. जगत पुरी स्मृति प्रतिक्षालयमा निर्माण गरिएको प्रतिमामा अबिर र माल्यार्पण गर्नुभएको थियो ।

त्यसै क्रममा हिमालय टेलिभिजनका न्युज कोअर्डिनेटर रामचन्द्र अर्यालसँग ‘हिमालय ग्राउन्ड जिरो’ कार्यक्रममा उम्मेदवार थापाले अन्तर्वार्ता दिँदै आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेसङ्गै राष्ट्रिय राजनीतिबारे आफ्न अ बिचार व्यक्त गर्नुभएको थियो ।

 

जनलहरको दाबी :

स्थानीयस्तरमा निरन्तर घरदैलो, श्रद्धाञ्जली र प्रत्यक्ष संवादमार्फत उम्मेदवार थापाले मतदातासँग निकट सम्बन्ध विस्तार गरिरहनुभएको छ । नौमती बाजासहितको स्वागत, पार्टी प्रवेश तथा विभिन्न स्थानमा देखिएको उत्साहजनक सहभागिताले गौमुखी क्षेत्रमा उहाँप्रति बढ्दो जनसमर्थन संकेत गरेको अभियान टोली र अन्य राजनीतिककर्मीहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय