ट्रेन्डीङ्ग

तेजेन्द्र बुढा मगर
झिमरुक, प्युठान

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाले फागुन १३, १४ र १५ गते सञ्चालन गरेको सघन चुनावी अभियानले झिमरुकका बस्ती–बस्तीमा नयाँ उत्साह भरेको छ । गाउँघरका ज्येष्ठ नागरिकदेखि युवापुस्ता, महिला समूहदेखि किसान समुदायसम्मको उल्लेखनीय सहभागिताले झिमरुकमा चुनावी लहर स्पष्ट देखिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अघि बढाइएको यो अभियान धार्मिक आस्था, संस्कार–संस्कृति, राजनीतिक प्रतिबद्धता र जनसमर्थनको अनौठो संगमका रूपमा देखिएको छ । तीन दिनको अवधिमा झिमरुकका विभिन्न वडा र बस्तीहरूमा सम्पन्न जनभेटघाट, घरदैलो, युवा भेला, विशेष भेटघाट र सम्मान कार्यक्रमहरूले चुनावी वातावरणलाई अझ सशक्त बनाएको छ ।

 

फागुन १३ : आशीर्वादबाट सुरु, जनसमर्थनबाट उत्साहित अभियान

फागुन १३ गते झिमरुक गाउँपालिका–५ मच्छी निवासी कम्युनिस्ट धारका पाको पुस्ताका नेता स्वर्गीय हरि प्रसाद रिजालकी धर्मपत्नी केशवता रिजालको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्दै सूर्य थापाले आफ्नो अभियानलाई भावनात्मक सुरुवात दिएका दिनुभएको थियो । केशवता रिजालले टीका लगाई शुभकामना व्यक्त गर्दा छोरी कमला रिजालले समेत रुद्राक्षको माला लगाइ आशीर्वाद दिएकी थिइन् । यस खालको संस्कार र सम्मानलाई प्राथमिकता दिँदै उम्मेदवारले ज्येष्ठ नागरिकको आशीर्वाद लिएर चुनावी अभियान अगाडि बढाउनु स्थानीय तहमा सकारात्मक सन्देशका रूपमा लिइएको छ ।

त्यसपछि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवाहरूले आलु सहितका फूलमालाले सम्मान गरेका थिए । स्थानीय उत्पादनलाई सम्मानको प्रतीकका रूपमा प्रस्तुत गर्दै गरिएको यो अभिनन्दनले गाउँकै पहिचान झल्काएको थियो । युवाहरूको उल्लेखनीय उपस्थितिले झिमरुकमा युवापुस्ताको सक्रिय सहभागिता देखाएको छ ।

उम्मेदवार सूर्य थापाले कार्यक्रममा सम्बोधन गर्दै विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वको प्रतिबद्धता दोहोर्‍याउनु भएको थियो । उहाँले झिमरुकका सडक, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभएको थियो ।

 

मच्छिदेखि हिरापोखरीसम्म : बस्ती–बस्तीमा जनभेटघाट

झिमरुक–५ मच्छीमा युवा भेलाबाट सुरु भएको चुनावी अभियान हिरापोखरीको चुनावी भेटघाटबाट सम्पन्न गरिएको थियो । युवाहरुको सक्रियतामा गाडी तथा बाइकहरुको र्‍याली सहितको उम्मेदवारलाई बाटो–बाटोमा मतदाताहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । उम्मेदवारले प्रत्येक बस्तीमा पुगेर स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिँदै समाधानका सम्भावनाबारे छलफल समेत गर्नुभएको थियो ।
झिमरुक गाउँपालिका–१ अन्तर्गत न्याउरीखोला, बिड्डाँडा, सौतामारे, कोइली खोला, सालका रूख, बडाचौर र पातिहाल्ना लगायतका स्थानहरूमा जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । यस्तै वडा नम्बर–२ को चिप्लेटी र काशिपोखरामा समेत उल्लेखनीय सहभागिता देखिएको थियो । सौतामारेमा भने विशेष दृश्य देखिएको थियो । आफ्नो जन्मभूमि भएकाले पनि स्थानीयले नौमती बाजासहित भव्य र्‍याली निकालेर स्वागत गरेका थिए । परम्परागत बाजागाजासहितको स्वागतले चुनावी अभियानलाई सांस्कृतिक रंग समेत दिएको थियो ।

 

फागुन १४ : ढाँड, मच्छी बजार र मर्काबाङमा सघन कार्यक्रम

फागुन १४ गते बुधबार बिहान झिमरुक गाउँपालिका–५ ढाँड र मच्छी बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । स्थानीय व्यापारी, किसान र गृहिणीहरूसँग प्रत्यक्ष संवाद गर्दै घरदैलो कार्यक्रम गर्नुभएको हो ।
त्यसपछि झिमरुक–६ मर्काबाङमा चुनावी भेटघाट सम्पन्न गरिएको थियो । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यही अवसरमा नयाँ चुनावी गीतको भिडियो “राम्रो मान्छे छानौं, सूर्यमा छाप हानौं” सार्वजनिक गरिएको थियो । गीतले चुनावी अभियानलाई थप ऊर्जा दिएको छ ।

 

फागुन १५ : पाको पुस्तासँग विशेष भेटघाट र चुनावी कार्यक्रम

फागुन १५ गते नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक मध्येका प्रमुख व्यक्तित्व पुष्पलाल श्रेष्ठ समुहका, देशभर पार्टी सदस्यता नं.२६० मा रहेका पाको पुस्ताका झिमरुक–८ गोब्दिका ७३ वर्षीय शेरचन्द्र बस्नेतसँग सूर्य थापाले विशेष भेटघाट गर्नुभएको थियो । बस्नेतसँग आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा गहन छलफल भएको थियो । उहाँले उम्मेदवारलाई आशीर्वाद दिँदै पार्टीको आदर्श, त्याग र संघर्षलाई आत्मसात गर्दै जनताको सेवा गर्न सुझाउनुभएको थियो । यो भेटघाटले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको वैचारिक निरन्तरतालाई झल्काएको देखिएको छ ।

 

त्यसपछि झिमरुक–८ ईख्नाथानमा इख्ना देवीको दर्शन गरी देउता पोखरामा चुनावी जनभेटघाट सम्पन्न गरिएको थियो । धार्मिक आस्था र सामाजिक समरसतालाई सम्मान गर्दै गरिएको यो कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । यो सङ्गै झिमरुक–७ उपल्लो तुषारा, बाघखोर, कुता र कुटिचौरका विभिन्न बस्तीहरूमा चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । प्रत्येक बस्तीमा स्थानीय समस्याहरू संकलन गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

 

पूर्व कार्यक्रम र अभियानको विस्तार

झिमरुक–२ कमिरेपानीमा भने फागुन १२ गते मंगलबार नै चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । यसअघि सम्पन्न कार्यक्रमहरूले पनि झिमरुकमा चुनावी माहोललाई बलियो बनाएको थियो । यस झिमरुक अभियानसँगै जिल्लाका जम्मा ९ स्थानीय तह मध्ये ८ स्थानीय तह र ६४ वडा मध्ये ५५ वडामा चुनावी जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ । अब अभियान प्युठान नगरपालिकामा प्रवेश गरेको छ ।

 

उत्साहजनक समर्थन र सकारात्मक आकलन

तीन दिनसम्म चलेको सघन अभियानमा देखिएको जनसहभागिता, स्वागत, फूलमाला, नौमती बाजा, आशीर्वाद र प्रत्यक्ष संवादले चुनावी नतिजा सकारात्मक आउने संकेत दिएको आकलन गरिएको छ ।
स्थानीयबासीहरूले विकास निर्माण, रोजगारी, कृषि आधुनिकीकरण, सडक पूर्वाधार र शिक्षा–स्वास्थ्य सुधारका विषयमा स्पष्ट एजेन्डा प्रस्तुत गर्न आग्रह गरेका छन् । उम्मेदवारले ती मागहरूलाई प्राथमिकतामा राख्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झिमरुक गाउँपालिकाका बस्ती–बस्तीमा पुगेको यो चुनावी अभियान केवल राजनीतिक कार्यक्रम मात्र नभई जनताको घरआँगनमा पुगेको संवाद अभियानका रूपमा देखिएको छ । ज्येष्ठ नागरिकको आशीर्वाद, युवाको उत्साह, महिलाको सहभागिता र सांस्कृतिक परम्पराको समावेशले अभियानलाई जीवन्त बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय