ट्रेन्डीङ्ग

तेजेन्द्र बुढा मगर
नौबहिनी, प्युठान । फागुन ५ देखि ८ गतेसम्म नौबहिनी गाउँपालिकाका विभिन्न वडामा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाको चुनावी भेटघाट कार्यक्रम जनसागरमा परिणत भएको छ । चार दिनसम्म चलेको घरदैलो, सभासम्मेलन र धार्मिक दर्शन कार्यक्रममा स्थानीय नागरिकको बाक्लो सहभागिता, फुलमाला र नौमती बाजाको घन्काइले चुनावी माहोल झनै तातेको देखिएको छ ।

 

फागुन ५ : बहानेबाट स्याउलिबाङ्गसम्म भव्य स्वागत

फागुन ५ गते बिहान बहानेमा भव्य स्वागतसँगै कार्यक्रम सुरु भयो । त्यसपछि नौबहिनी–१ स्याउलिबाङ्गतर्फ प्रस्थान गर्नुभएको थियो । स्याउलिबाङ्ग्मा नौमती बाजासहितको जुलुसले गाउँ नै उत्सवमय बनायो । लालिगुराँसका फुलमालाले ढपक्कै पार्दै स्थानीयले उत्साहपूर्वक स्वागत गरेका थिए । चुनावी सभालाई सम्बोधन गर्दै थापाले सुशासन, विकास र जनउत्तरदायी नेतृत्वको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस लगत्तै नौबहिनी–२ लिघाका विभिन्न स्थानमा चुनावी भेटघाट सम्पन्न भयो । जेष्ठ नागरिकहरूको आशिर्वाद लिँदै युवा तथा अल्फा जेनेरेसनसँग फोटो खिचाउँदै उम्मेदवारले पुस्ताबीचको सहकार्यको सन्देश दिनुभयो । सोही दिन डाँडा कटेरी स्थित शिव मन्दिरमा दर्शनसमेत गर्नुभएको थियो ।

 

फागुन ६ : सारिबाङ्ग र खबाङ्ग–चुखिनपाटामा महिला समूहको अग्रसरता

फागुन ६ गते नौबहिनी–३ सारिबाङ्ग र नौबहिनी–४ खबाङ्ग चुखिनपाटामा चुनावी भेटघाट सम्पन्न भयो । नौबहिनी–४ का महिला समूहले नौमती बाजासहित विशेष स्वागत गर्दै चुनावी वातावरणलाई अझै रौनक बनाएका थिए ।

 

फागुन ७ : बहाने बजारदेखि डाम्रीसम्मको चुनावी भेटघाट

फागुन ७ गते नौबहिनी–६ बहाने बजारमा घरदैलो कार्यक्रम सम्पन्न भएपछि लुङ्गको पौवापोखरामा चुनावी भेटघाट भयो । त्यसपछि नौबहिनी–५ अन्तर्गत डामृको काटे, सेरबाङ्ग, भेण्डा, गावै लगायत स्थानमा राति करिब १० बजेसम्म कार्यक्रम जारी रह्यो । सेरबाङ्गमा पनि नौमती बाजासहित भव्य स्वागत गरिएको थियो । फुलमालाले आँखा नै नदेखिने गरी जनताले माया दर्शाएको दृश्यले चुनावी उत्साह चरममा पुगेको देखिन्थ्यो । सेरबाङ्गको कार्यक्रम अघि समानुपातिक उम्मेदवार एन्जिला थापा र उहाँका धर्मपत्नी सुवर्णा वलिसँगै भुमेथानको दर्शनसमेत गर्नुभएको थियो ।

 

फागुन ८ : धार्मिक दर्शनसँगै समापन

फागुन ८ गते लुङको सिउरिकाटे स्थित पुजारा घरमा दर्शन तथा मष्ट संग्रहालय अवलोकनपछि नौबहिनी–७ का बास्कोट, थात्रा र वडा नम्बर ८ खैरापुरमा चुनावी भेटघाट सम्पन्न भयो । साँझ लुप्लुङ्गमा सन्ध्याकालीन भेटघाट गर्दै धनन्जय गोत्रीय बन्धुहरूको देवघरमा भेटी चढाई दर्शन गरेसँगै नौबहिनी गाउँपालिकाको चारदिने चुनावी अभियान सम्पन्न भएको छ ।

 

उत्साहजनक सहभागिता, आशिर्वाद र मागको सम्बोधन

चार दिनको अभियानभर सबै स्थानमा मतदाताको उत्साहजनक तथा बाक्लो सहभागिता देखिएको थियो । नागरिकहरूले विकास, रोजगारी, पूर्वाधार र सुशासनसम्बन्धी आफ्ना मागहरू राख्दै उम्मेदवारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । थापाले ती मागहरूको सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आशिर्वाद र समर्थनका लागि आभार व्यक्त गर्नुभयो ।

नौबहिनी गाउँपालिकामा देखिएको जनलहर र उत्साहले आगामी निर्वाचनको परिणामतर्फ सबैको ध्यान आकर्षित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय