ट्रेन्डीङ्ग

बोम बहादुर परियार/तेजेन्द्र बुढा मगर
ऐरावती, प्युठान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानले प्रतिनिधि सभा निर्वाचन लक्षित जनभेटघाट कार्यक्रम बिहीबारदेखि ऐरावती गाउँपालिकामा सुरु गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै पालिकाका सबै वडामा अभियान सञ्चालन गरिएको जनाएको छ ।

गाउँपालिका–४ छाप र धुबाङमा आयोजित कार्यक्रममा स्थानीयवासी आफ्ना विभिन्न मागसहित सहभागी भएका थिए । गोल्जाका स्थानीयले यसपटक पुनः एमाले उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङवेसीकी शिबा घर्तीले एमालेको जित सुनिश्चित रहेको बताइन् ।

जनभेटघाटका क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य थापाले जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सराङवेसी, खबाङ र गोठीबाङमा समेत भेटघाट सम्पन्न भएको एमाले प्युठानले जनाएको छ । अभियानमा गाउँ कमिटी अध्यक्ष टीका बहादुर गुरुङ, स्थानीय नेता अर्जुन सापकोटा, पुरन गुरुङ, अनेरास्ववियुका केन्द्रीय सदस्य टेकराज केसी, युवा नेता ईश्वर थापा, महेश पाण्डे लगायत सहभागी थिए ।

 

वडा-वडामा कार्यक्रम, स्थानीयको उल्लेख्य सहभागिता

धुबाङ र गोल्छामा सम्पन्न कार्यक्रममा २५ जनाको उपस्थिति रहेको थियो भने सराङबेसीमा २३ जना सहभागी भएका थिए । अधेरी (वडा नम्बर–३)मा २२ जना र दारिमपाटामा २४ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ । चुत्रेनी छेडामा कामकाजका क्रममा जंगल पुगेका स्थानीयसँग पनि उम्मेदवार थापाले भेट गरेका थिए । वडा नम्बर–३ जाबुनेमा ३७ जनाको सहभागितामा जनभेटघाट सम्पन्न भएको थियो । स्थानीयले जिल्लाकै ऐतिहासिक जाबुने दह पोखरीलाई व्यवस्थित गर्न माग राखेका थिए ।

तालपोखरामा समानुपातिक उम्मेदवार एन्जिला थापा (लक्ष्मी) ले स्थानीयसँग संवाद गर्दै प्रत्यक्षतर्फ सूर्य चिन्हमा सूर्य थापालाई र समानुपातिकतर्फ आफूलाई मतदान गर्न आग्रह गरिन् । उक्त कार्यक्रममा २३ जना सहभागी थिए ।

लामिदमार (वडा नमबर–२), माझखण्ड छेडाघाट, कोल्बोट (वडा नम्बर–१), मान्द्रे, बन्जाडेडाँडा, चाख्लाघाट, जुडा, दाङबाङ, धाईरेखर्क, बरौला र वडा नम्बर–६ उदिक, बिजुली चिउरापानी तथा बिजुली थाममा समेत जनभेटघाट कार्यक्रम सम्पन्न भएको थियो । कोल्बोटका स्थानीयले घर आगनमै उम्मेदवार थापालाई भेट्न पाउँदा उत्साहजनक सहभागी सहित खुसी व्यक्त गरेका थिए । यस्तै मान्द्रेमा पनि स्थानीय समस्यालाई भौतिक र बस्तुगत रुपमा पहिचान गरि उम्मेदवारलाई खानेपानीको समस्या समाधान गर्न सुझाएका थिए । जुडा र चाख्लाघाट देखि अर्घाखाँची दुर्बाङ जोड्ने झोलुङ्गे पुलको समेत माग राखेका थिए ।

 

पूर्वाधार र सेवासुविधा मुख्य माग

मान्हखण्ड छेडाघाटका स्थानीयले अर्घाखाँचीसँग जोड्ने बङसारी पुल निर्माणको माग राखेका थिए । उक्त पुल बनेपछि प्युठानबाट अर्घाखाँची हुँदै बुटवल आवतजावत सहज हुने उनीहरूको भनाइ छ । गाउँमा विद्युत् समस्यासमेत रहेको स्थानीयले बताएका थिए । यसै निर्वाचनमा नयाँ मतदान स्थल स्थापना भएपछि घरनजिकैबाट मतदान गर्न पाउने व्यवस्था मिलेकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् ।
एमाले प्युठानका अनुसार अभियानले गाउँ–गाउँमा प्रत्यक्ष संवाद, समस्या संकलन र समाधानको प्रतिबद्धता प्रस्तुत गर्ने लक्ष्य लिएको छ । निर्वाचन नजिकिँदै जाँदा ऐरावतीका विभिन्न बस्तीमा जनभेटघाट कार्यक्रमलाई तीव्र बनाइएको जनाइएको थियो ।

 

अन्त्यमा :
डोको बुन्ने, गारो लगाउने जस्ता श्रमशील कार्यमा सहभागी हुनुभएको विषय सामाजिक सञ्जालमा व्यापक चर्चा भयो । केही विरोधीले यसलाई आलोचनाको विषय बनाए पनि आम मतदाताले भने यसलाई सरलता, विनम्रता र जनतासँग नजिक रहने व्यवहारका रूपमा सकारात्मक रूपमा लिए । जनताको दैनिक जीवनसँग जोडिएका काममा प्रत्यक्ष सहभागी हुनु नेतृत्वको व्यवहारिक पक्ष देखाउने संकेत हो भन्ने धारणा धेरैको रह्यो । यस घटनाले राजनीतिक व्यक्तित्व र जनजीवनबीचको दूरी बढाउने सन्देश दिएको छ । आलोचना र समर्थन दुवैका बीच यसले नेतृत्वको मानवीय पक्ष उजागर गर्दै मतदातामा आत्मीयता र विश्वास बढाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय