पर्यटन गन्तव्यको एक ऐतिहासिक थलोका रुपमा चिनिदै आएको कोठिभिरमा स्याउलिबाङका आमा समूहको लगानीमा टहरा निर्माण गरिदै छ । नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ साविक ५, ६ र ७ नम्बर वडाका आमा समूहको लगानीमा ट्रस्ट बन्न लागेको हो । करिब ७ लाख खर्च अनुमान गरिएको टहरा साविक स्याउलिबाङ गाविस ५ को नमुना स्वास्थ आमा समूह र ६ नम्बर वडाको नौबहिनी आमा समुहको आर्थिक लगानीसङ्गै र ७ नम्बर वडाका आमा समुहको श्रमदानमा निर्माण गर्न थालिएको नौबहिनी गाउँपालिका-१ का वडा सदस्य चन्द्रमणी बुढा मगरले जानकारी दिनुभएको छ ।
पछिल्लो समय दैनिक रुपमा यहाँ पर्यटकहरुको आवतजावत बढिरहेको छ । टहरा निर्माणले थप आकर्षण बढाउने मात्र नभएर कोठिभिर घुम्न आउने पर्यटकहरुलाई पानी पर्दा, हिउँ आउँदा ओत लाग्ने र बास बस्न समेत मिल्नेछ । खासगरी मौसम अनुसार फरकफरक दृश्य देख्न सकिने यश स्थानमा यो समयमा प्युठान, रोल्पा, बाग्लुङ र गुल्मीका रमणीय दृश्य देख्न पाउनुका साथै धौलागिरी, माछापुच्छ्रे लगायतका हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । यी दृश्यहरुलाई पृष्ठभुमि बनाउदै फोटो तथा भिडियो (टिकटक, फेसबुक रिल, स्टोरी) हरुमा राख्न सकिन्छ । खासगरी कन्टेन्ट कृयटर, भ्लगर र युट्युबरहरुले यस ठाउँमा घुम्न आउने र यस क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याईरहेका छन् ।
स्याउलिबाङ ठुलोगाउँ हुँदै नौबहिनी मन्दिर, नौबहिनी झरना, नौबहिनी धारा सङ्गै विभिन्न संरचनाहरु हेर्दै खलेसबाङ पुगिन्छ । जहाँ अर्गानिक आलुबारीको अवलोकन गर्न सकिन्छ । खलेसबाङको विश्राम पछि गुराँसे पुगिन्छ, जहाँ चैत बैशाखको समयमा थरीथरीका गुराँस फुलेर ढकमक्क हुन्छन् । अर्को तर्फ ठुलोगाउँ, डिमेचौर, थोक्लाङ र छिमेकी जिल्ला बाग्लुङ जाने बाटो हुँदै समेत कोठिभिर पुग्न सकिन्छ । विभिन्न मौसम र समय अनुसारका रङ्गिन फुलहरुसङ्गै जडिबुटीहरु समेत यस क्षेत्रमा पाइन्छ ।
प्युठानकै उच्च भु-भाग हो, कोठिभिर । जुन समुन्द्री सतहबाट ३ हजार ६ सय ५९ मिटर उचाइमा पर्दछ ।








