प्यूठानको गौमुखी गाउँपालिकामा साविक अर्खा र रजवारा गाविसको दुई गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन भएको छ । बिहिवार एक औपचारिक कार्यक्रमका बिच संघीय सांसद सूर्य बहादुर थापाले उद्घाटन गर्नुभएको हो । पुल निर्माणले दुई गाउँ जोडिए भएपछि स्थानीय खुसी भएका छन् ।
२०८२ सालको मंसिर महिना भित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि काम जेठ महिना भित्र सम्पन्न भएको हो । पुल (अर्खा, लामिडाँडा – रजवारा, देउराली) ३ सय ७३.८० मिटर लामो र १ सय ७० मिटर अग्लो बनेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले प्युठान जिल्लामा मात्र नभई लुम्बिनी प्रदेशमै सबैभन्दा लामो तथा अग्लो रहेको बताउनुभएको थियो । साथै यस्ता गौरवका योजनाहरुको पुल जिल्लामा आवस्यक रहेकोले ती पुलहरु पनि स्रोत सुनिश्चितता गरि निर्माण कार्य सम्पन्न गर्ने बताउनुभएको छ ।

पुल निर्माणले स्थानीयवासीहरूको आवतजावतलाई सहज बनाएको छ । पुलको शिलान्यास पनि संघीय सांसद थापाले २०८१ सालको मंसिर १३ गते गर्नुभएको थियो । सांसद थापाको पहलमा पुल निर्माणका लागि बजेट सुनिश्चितता भएसङ्गै निर्माण कार्य थालनी भएको थियो । पुल निर्माणको ठेक्का २ करोड ७२ लाख ७४ हजार रुपैयाँमा अपर तामाकोसी जेभीले पाएको थियो ।

पुलको निर्माणले गाउँका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याएको मात्र नभई पर्यटन प्रबर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने स्थानीयले बताउछन् । स्थानीयवासीहरूको अपेक्षा अनुसार यो पुलले गाउँको सामाजिक र आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
पुल नहुँदा घण्टौ हिँड्नुपर्ने, घरायसी कामकाजमा सहजता, विद्यार्थीलाई सहजताका साथै अब स्कुलमा वारीका पारी र पारिका वारी गाउँमा आउन सजिलो भएको छ । वर्षातमा बाढी पहिरोसङ्गै खोलानालाको डर हुने अवस्थालाई समेत पुल निर्माणले हटाउने भएको छ । यो सङ्गै चेलीबेटीहरुलाई आफन्त तथा इष्टमित्रहरुको विभिन्न चार्डपर्व, विवाह र भोजभतेरमा जानको सजिलो हुने भएको छ । 
पुल निर्माणले करिब ४ घण्टा लाग्ने बाटो अब भने १५ मिनेटमै वारपार गर्न सकिने भएकोले सांसद थापा सङ्गै यस पुल निर्माण कार्यमा योगदान पुर्याउने सम्बन्धित सबैलाई स्थानीयले खुशीका साथ धन्यवाद प्रकट गरेका थिए ।
गौमुखी गाउँपालिका ३ नं. वडा अध्यक्ष जङ्ग बहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद थापा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसिराम पौडेलले गर्नुभएको थियो । 






