ट्रेन्डीङ्ग

कृषि क्रान्ति, गरे सम्भव छ । दुर्गम बस्ति, जङ्गल छेउका बाँझो जमिनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण ती किसानहरुले गर्छन्, जसको मनभरी कृषि क्रान्तिको संकल्प हुन्छ, आत्मविश्वास हुन्छ । जहाँ पसिना बग्छ, पसिना पुछ्ने अनि खुसीको आधारहरु कैयन पैदा हुन्छ । अनि भन्न मन लाग्छ, “जङ्गलको छेउमा केही छ ।”

नेपाल कृषिप्रधान देश भएता पनि पर्याप्त कृषिजन्य वस्तुहरूको उत्पादन गर्न सकिरहेको छैन । परम्परागत कृषि प्रणालीलाई अङ्गाल्दै परापूर्वकाल देखि नै देशको आधाभन्दा बढि जनसंख्या कृषि पेशामा संलग्न रहेको पाइन्छ । तथापि नेपालको एकतिहाइ ग्राहस्थ कृषि क्षेत्रले ओगटेको छ, भने दुईतिहाई जनसंख्या कृषिमा लागेका छन् । तर पनि आत्मनिर्भर हुनसकेको छैन ।

नेपालको कृषि प्रणाली परम्परागत नै छ । अरू देश आधुनिकीकरण भइसकेका छन् । नेपालको कृषि क्षेत्रमा भने खासै परिवर्तन आइसकेको देखिदैन । जसले गर्दा उत्पादनमा कमी आएको पाइन्छ । कृषि प्रधान देश भएता पनि दिनानुदिन छिमेकी मुलुकबाट कृषिजन्य वस्तुको आयातमा निर्भर छौं । बढ्दो आयातले गर्दा नेपाली कृषि पद्धति र उत्पादनमा ठूलो प्रश्न चिन्ह खडा भएको छ । नेपालमा ग्राहस्तको तथ्याङ्क हेर्ने हो भने कृषि क्षेत्रको ग्राहस्थ प्रत्येक वर्ष घटिरहेको देखिन्छ । सन् २०१५ मा कृषि क्षेत्रको ग्राहस्थ उत्पादन २९.३८५  थियो भने त्यो पछिल्ला वर्षहरूमा घटिरहेको देखिन्छ ।

तर ! कतिपय यस्ता उदाहरणहरु जिवित छन्, जसले गर्दा हजारौं किसानका मन लोभ्याइदिन्छन । ‘अनि लाग्छ, कृषि क्रान्ति गरौं’ । प्युठानको नौबहिनी गाउँपालिका-८, लम्पुक स्थित जङ्गलको छेउमा केही समय अघिसम्म करिब ४० रोपनी जग्गा एउटा बाँझो बारीको रुपमा थियो । मनभरी खुसीका आधारहरु सिर्जना गर्दै ५७ वर्षीय  कृषक मिनराज घर्ती मगरले संकल्प गरे, कृषि क्रान्ति गर्छु भन्ने । अहिले त्यो संकल्प खुसीमा परिणत हुँदैछन् ।

तीन वर्ष अघि दाङ, चितवनसङ्गै अनेक ठाउँमा अध्ययन अवलोकन गर्दै ड्रागन फ्रुटको व्यवसायीक खेती गर्न थाल्नुभयो । अहिले उत्पादन सङ्गै खुसिका छालहरु सिर्जना भएको अनुभुती गर्न थाल्नुभएको छ ।  त्यतिबेला उहाँले ३ सय ५० ड्रागन फ्रुटको बिरुवा लगाउनुभएको थियो । केही बिरुवा ह्रास भए पनि अधिकांश बिरुवाले राम्रो फल दिन थालेको छ । त्यस यता केही बिरुवा थपेर अहिले करिब ३ सय ८० बिरुवाले फल दिन थालेको घर्ती मगर बताउनुहुन्छ । भन्नुहुन्छ, “सफलताले आफै पछ्याउँदो रहेछ, केवल मेहनत गर्न छोड्नु भएन ।” गरेपछी आफ्नै ठाउँमा सुन फल्छ, नगरे ढुङ्गा बन्छ । अझै खुसीका साथ भन्नुहुन्छ “किसान हुँ कृषि पेशामै रमाउन चाहन्छु, मलाई यहि स्वर्ग छ । बिहान साँझ बारी गोडमेल गरेर आनन्द लिने गर्दछु । अझ भनौ अहिले त अन्य कृषहरुको प्रेरणा बनिरहेको छु जस्तो लाग्छ ।”

साच्चै ! उहाँको यो लगाव र मेहनत देखेर गाउँका किसान मोहित छन् । अहिले उहाँलाई बारी गोडमेल गर्नमा श्रीमती र बुहारीले सघाउने गर्दछन् । लगाएको डेढ वर्षमा फल दिन सुरु गरेको ड्रागन फ्रुटबाट पहिलो वर्ष करिब ५० हजार बराबरको फल बेचेको उहाँ बताउनुहुन्छ । यस वर्ष भने कम्तीमा २ क्विन्टल फल बेच्ने लक्ष्य लिएको उहाँ बताउनुहुन्छ । बारीमा ड्रागन लटरम्म फलेका छन्, उहाँ ड्रागन टिपेर डोकोभरी बनाएर बेच्न बजारसम्म झर्नुहुन्छ । अनि फेरि मुस्कुराउदै भन्नुहुन्छ, “दु:ख त हुन्छ नि तर, दु:ख गर्नलाई पनि मेहनत चाहिन्छ । मेहनत गर्‍यो भने खुसी मिल्छ, अनि दु:ख भुलाइन्छ ।”

४० रोपनी जग्गा मध्य ड्रागनले करिब १० रोपनी क्षेत्रफल ओगटेको छ भने अन्य जग्गामा उहाँले किबि, केरा, सुन्तला, कागती, अलैंची लगाउनुभएको छ । उहाँको बारिमा पुग्दा मनै मोहित हुन्छ । तर गत वर्ष भने हावाहुरीका कारण करिब ६० वटा फलेका केराका घारहरु नष्ट हुँदा भने चिन्तित बनेको उहाँ बताउनुहुन्छ । नौबहिनी गाउँपालिकाले उहाँलाई केही समय अघि उत्कृष्ट किसानका रुपमा नगद सहित सम्मान समेत गरेको थियो । साथै उहाँको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने समेत बाचा गाउँपालिकाले गरेको छ ।

अन्तमा : पुरातन कृषि प्रणाली र कृषिमा आधुनिकीकरणको कमीसङ्गै किसानले आधुनिक कृषि सामग्री त परै जाओस् समयमा बिउबिजन र मल पनि सर्वशुलभ ढङ्गले पाइरहेका छैनन् । जसले गर्दा कृषिमा परिवर्तनको सम्भावना कम छ । कृषिनै देशको अर्थतन्त्रको मूल आधार हो । कृषिमा वैज्ञानिकीरण भएमात्र देशको आर्थिक समृद्धि हुन्छ । कम लगानीमा उच्च आम्दानी कसरी ल्याउन सकिन्छ भन्ने कुरा बुझ्न निकै आवश्यक छ ।

कृषिक्षेत्रलाई भरपर्दाे, मजबुत र समसामयिक बनाउन सिचाईको उचित व्यवस्था राज्य पक्षले मिलाउनु अपरिहार्य हुनुका साथै थोपा सिचाई जस्ता प्रविधिलाई कृषक समक्ष पुर्याउनु जरूरी छ । साथसाथै राज्य पक्षले कृषकहरूलाई आधुनिक कृषि प्रणाली सम्बन्धी विज्ञहरूद्वारा पर्याप्त मात्रामा सिप सिकाउनुका साथै कृषिमा प्रयोग गरिने आधुनिक उपकरणको शुलभता, कृषकहरूका लागि छुट्टै आर्थिक प्याकेज, समयमा उन्नत जातका बिउबिजन तथा मलखादको व्यवस्था, बालीनालीलाई रोग तथा किराबाट बचाउनका लागि आवश्यक पर्ने औषधिको व्यवस्था मिलाउन पर्ने देखिन्छ, त्यस्तै कृषिउपज वस्तुको भण्डारण तथा बजार व्वस्थापन गर्नुपर्ने जरुरी छ । जसले गर्दा ५७ वर्षीय मिनराज घर्ती मगर जस्ता कृषकहरु हजारौं हुन्छन् अनि कृषिमा आत्मनिर्भर गराउने एउटा आधारशिला बन्छ ।

डोकोको ड्रागन बेच्दै कृषक मिनराज घर्ती मगर : तस्बिर_तेजेन्द्र बुढा मगर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय