
प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाले निर्माण गरेको माण्डवी-३, को खेलमैदान मार्सिबाङ्गमा खेल सञ्चालन भईरहेको छ । पछिल्लो समय प्रत्येक स्थानीय तहहरुले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको माण्डवी गाउँपालिकाले पहिलो पटक सर्वाधिक राशिको पुरस्कार सहितको राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
गाउँपालिकाले २०८०/०८१ को स्वीकृत वार्षिक बजेट अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितालाई अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
७ सय ५३ स्थानीय तहमै पत्राचार गरेकोमा हाल सम्म प्युठान र आसपासका जिल्लाका स्थानीय तह गरि १३ समूहले सहभागी जनाएको आयोजकले जनाएको छ ।
जसको प्रथम पुरस्कार क्रमश: नगद रु. २ लाख, द्वितीय १ लाख २५ हजार र तृतीय पुरस्कार नगद रु. ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको समुद्घाटन गर्दै संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले खेल स्वास्थ्य मानव जीवनको लागि महत्त्वपूर्ण विषय भएकाले यसको विकास गर्न जरुरी रहेकोे बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय परिषद प्युठानका दुर्गा रेग्मी, प्युठान नगरपालिका प्रमुख विष्णु योगि, नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो । कार्यक्रमका अध्यक्षता गर्नुभएका माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले उद्घाटन समारोह समापन गर्दै खेल क्षेत्रको महत्त्वलाई आत्मसात गर्दै खेलाडिहरुलाई उजागर गर्नका लागि पालिकाले कार्यक्रम आयोजना गरेको बताउनुभएको छ ।
कार्यक्रम २ दिनमा समापन गर्ने गरि सञ्चालन भइरहेको आयोजकले जनाएको छ । स्थानीय तहमा उत्पादन भएका खेलाडिको प्रोत्साहनका लागि यो प्रतियोगिताले सहयोग पुग्ने अध्यक्ष नवराज अधिकारिले बताउनुभयो । उहाका अनुसार अबदेखि यो प्रतियोगिता हरेक वर्ग निरन्तर रूपमा सञ्चालन हुनेछ ।