
नौबहिनी गाउँपालिका प्युठानमा शारीरिक रुपमा अपाङ्गता भएका १८ वर्ष मुनिका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लुङ्ग बहाने, प्युठानको आयोजना अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपाको प्राविधिक सहयोगमा एक दिने अपाङ्गता पहिचान, परिक्षण तथा पुनर्स्थापना घुम्ती शिवीर सप्पन्न भएको हो ।
शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बालबालिका सहित १ सय २० वयस्क तथा ज्येष्ठ नागरिकहरु समेतले सेवा लिनुभएको थियो ।
जसमध्ये ६ जना बालबालिकाहरुको शल्यक्रिया गर्नुपर्ने भएको छ भने ४ जनालाई सम्बन्धित विशेषज्ञको सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने भएको छ । अपाङ्गता भएका बालबालिकाहरु मध्य ६ जनाको कृत्रिम अंग (हात, खुट्टा) चेकजाँच गरिएको छ भने १ महिना भित्र कृत्रिम अङ्ग निर्माण गरि ती बालबालिकालाई प्रदान गरिने भएको छ ।
साथै २ जना शारीरिक रुपमा अशक्त भएका व्यक्ति हरुलाई ह्विलचिअर प्रदान गरिने भएको छ । शिविरमा १ जनालाई ह्विलचिअर, १ जनालाई बैशाखी र १ जनालाई वाकर वितरण गरिएको छ ।
शिविरमा लुम्बिनी प्रदेश पुनर्स्थापन केन्द्र प्रमुख लेखनाथ आचार्य सहित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रबाट खटिएका अर्थोपेडिक सर्जन डा. राजेन्द्र अर्याल, कृत्रिम अंग बिभागिय प्रमुख प्रलाद प्रसाद पराजुली, पिडाडिक नर्स शसिकला महत, फिजियोथेरापिष्ट दुर्गा खनाल र सामाजिक परिचालक त्रिलोक थारु लगायतका अनुभवी चिक्तिसकहरुद्धारा परिक्षण गरिएको थियो ।
शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेका अवस्थालाई मध्यनजर गरेर शिविर सञ्चालन गर्ने सम्झौता गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । साथै आगामी वर्षहरुमा थप सेवा दिन यस्ता शिविर सञ्चालन गर्ने समेत बताउनुभएको छ ।