ट्रेन्डीङ्ग

प्युठानको मल्लरानी गाउँपालिका-५ सरगंकोटका मिलन सुनार बिहान ७ बज्न नपाउँदै विद्यालय जाने तयारीमा जुट्छन् । जिल्ला सदरमुकाम खलङ्गा स्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत सुनारलाई विद्यालय आउजाउ गर्न दैनिक पाँच घण्टा बढी समय लाग्छ ।

लामो दुरीको पैदल यात्राबाट दैनिक विद्यालय आउजाउ गर्दा अध्ययनमा असर पुगेको उनको गुनासो छ । उनी भन्छन्, ‘घरमा कहिले खाना नपाक्दा भोकै स्कुल आएर बेहोस हुने समस्या पनि हुन्छ । यो टाढा घर भएकै कारण हो ।’

महेन्द्र मावि खलङ्गामा अध्ययन गर्ने विद्यार्थीमध्ये एक सय जनाभन्दा बढी विद्यार्थी दैनिक चारदेखि ६ घण्टासम्म पैदल विद्यालय आउजाउ गर्दै आएका छन् । मल्लरानी गाउँपालिकाको सरगंकोट, राम्चे, रिठेखर्क, रामपानी, पलासे, जोरपोखरी, गिरिचौर, प्यूठान नगरपालिकाको छेपाने, बुकेनी, ऐरावती गाउँपालिकाको सिन्दुरेडाँडाका विद्यार्थी पाँच घण्टा भन्दाबढी हिँडेर गरेर अध्ययन गरिरहेका छन् ।

लामो दुरीबाट पैदल विद्यालय आउँदा विद्यार्थीमा थकाई लाग्ने, पढाइमा ध्यान नजाने र घर फर्किएपछि पनि पढाइमा समस्या हुने गरेको छ । अर्की विद्यार्थी सोनिया नेपाली भन्छिन्, ‘कहिलेकसो हिँडेर आउँदा थकाइ लाग्छ । कहिले ढिलो भएर हाजिर छुट्छ कहिले प्राथाना छुट्छ । कहिले आधा क्लास छुट्छ ।’

विद्यालय आउजाउ गर्न समस्या हुने भएपछि केहि विद्यार्थी परीक्षाको समयमा कोठा भाडामा लिएरसमेत बस्ने गरेका छन् । तर निम्न आयस्रोतकै कारण सबै विद्यार्थीलाई यो सम्भव छैन् । विद्यालय आउन घण्टौं लाग्ने कारण विद्यालयमा विद्यार्थी उपस्थितिसमेत कम हुने गरेको छ ।

यस विद्यालयका प्रध्यानाध्यापक पिताम्वर पौडेल टाढाका विद्यार्थीले थकानका कारण पढाइमा रुचि नदिएको बताउँछन् । उनी भन्छन्, ‘छोटो दिनमा उनीहरुलाई कोठा खोजेर बस्नुपर्ने बाध्यता छ । उनीहरूले थकाइका कारण पढाइमा रुचि दिन सकेका छैनन् ।’

घण्टौं लगाएर खाली पेट विद्यालय पुग्ने ग्रामीण क्षेत्रका विद्यार्थीलाई स्थानीय तहहरूले विद्यालयसँग समन्वय गरेर यातायातको साधन सञ्चालन गर्न सक्छन् । तर जनप्रतिनिधिको चासो त्यसतर्फ छैन । शमसेर विक्रम जि.सि. कान्तिपुर टिभिमा प्रशारित समाचारबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय