ट्रेन्डीङ्ग

झइन्द्र भण्डारी,
चैत , २६ प्यूठान । प्यूठान जिल्लामा मलेरिया रोगबाट संक्रमित व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म ९० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा प्यूठान जिल्लामा सम्भावित ४ सय ७१ जना नागरिकमा मलेरिया परिक्षण गर्दा ऐरावती गाउँपालिकामा ६ जना , मल्लरानी गाउँपालिकामा ३ जना र प्यूठान नगरपालिकामा १ जना मलेरिया संक्रमित गरी जम्मा १० जना संक्रमित रहेको र आर्थिक वर्ष २०७७/०७८ को चैत्रसम्ममा २ हजार २ सय ९३ जना सम्भावित नागरिकहरूमा परिक्षण गर्दा नौबहिनी गाउँपालिकाका १ जनामा मात्र मलेरिया संक्रमण देखिएको मलेरिया कार्यक्रम सर्वेलेन्स मेडिकल संयोजक डा. सञ्जिव रोयले जानकारी दिए ।

अहिले नेपाललाई मलेरिया मुक्त घोषणा गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू सञ्चाल गर्दै आएको डा. रोयले बताए । सरकार तथा स्वास्थ्य शाखाको निर्देशिका तथा मापदण्ड अनुसार परिक्षण अधिकतम बढाएरमात्र यसको नियन्त्रण गरी लक्ष्य अनुसार निवारण गर्न सकिने मान्यता राख्दै एक कार्यक्रममा डा. रोयले बताए लुम्बिनी प्रदेशको सबैभन्दा बढी मलेरिया संक्रमित बाकेँ , बर्दिया , कपिलवस्तु र दाङमा रहेको जानकारी दिए ।

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा प्यूठानको आयोजनामा चैत्र २६ गते नगरपालिकामा सम्पन्न भएको किटजन्य रोग नियन्त्रणको लागि बहुनिकाय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालालाई प्रशिक्षण दिदै डा. रोयले मलेरिया नियन्त्रण तथा निवारणको लागि हामी सबै सरोकार निकाय जिम्मेवार रहदै सोही अनुरूप अगाडि बढ्नु पर्ने मान्यता व्यक्त गरे ।

मलेरिया संक्रमितलाई एनोफेलेस प्रजातिको पोथी लामखुट्टेले टोकेपछि फेरि सोही लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा सर्ने यो एउटा सरूवा रोग हो । गर्मीयाममा लामखुट्टे बढी सक्रिय हुने हुनाले यसको खतरा बढी हुने एक विज्ञान शिक्षक रमेश पार्धेले जानकारी दिए । परिक्षण पछि संक्रमितको पहिचान भयो भने यसको नियन्त्रण र निवारण गर्न धेरै सहज हुने भन्दै संयोजक डा. सञ्जिव रोय यसको लागि परिक्षण अत्यधिक बढाउनु पर्ने बतएका छन र सोही अनुरूप कार्यक्रमहरू सञ्चालन भइरहेको बताए ।

औंलोको रणनैतिक योजना सन २०१४- २०२५ बारे जानकारी , गाउँपालिका तथा नगरपालिका स्तरका स्वास्थ्यकर्मीलाई औलो निवारण कार्यक्रम चेतना अभिवृद्धि , औलोको खोजपताल तथा रेकर्डिङ रिपोर्टिङ तथा औलो निवारणको लागि सरोकारवालालाई जिम्मेवार तथा प्रतिबद्धता गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको डा. रोयले बताए ।

प्यूठानका ऐरावती , नौबहिनी , मल्लरानी ,प्यूठान , सरूमारानी र स्वर्गद्वारी गरी ६ ओटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भइसकेको र बाकी ३ स्थानीय तहमा आउदो वैशाखमा गरीने कार्यक्रम संयोजक रोयले बताए ।
अहिलेसम्म लुम्बिनी प्रदेशमा ७ स्थानीय र ५७ आयातित गरी जम्मा ६४ जनामा यो रोगको संक्रमण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय