ट्रेन्डीङ्ग

एलबी थापा,

प्यूठान, माघ १ । झिमरुक नदीको उद्गम स्थल गौमुखीमा माघेसक्रान्तिको अवसरमा भब्य मेला लागिरहेको छ । पश्चिम नेपालको ऐतिहासिक धार्मिक तिर्थस्थल स्वर्गद्वारीपछि जिल्लाको दोस्रो पर्यटकिय स्थलको रुपमा गौमुखीलाई लिइन्छ ।

यहाँ हरेक वर्ष माघेसक्रान्तिको अवसरमा भब्य मेला लाग्ने गर्छ भने बिहानैदेखि नुहाउने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्छ । प्राकृतिक र सांस्कृतिक महत्वका हिसाबले जानैपर्ने ठाउँ मानिने प्यूठानको अर्खा-१ मा रहेको गौमुखी गुल्मि, बाग्लुङ र रोल्पा जिल्लाको सिमाना नजिक पर्छ ।

गौमुखीमा प्राकृतिक गुफा छ । त्यसैको एक कुनाबाट गाईको मुख जस्तो आकृतिबाट छङछङ्ती पानी निस्कने भएकाले यसलाई गौमुखी भनिएको स्थानीय बुढापाका बताउँछन् । वर्षेनी माघेसक्रान्तिको अवसरमा हजारौं भक्तजनहरू लठघमीको प्रतीकका रूपमा रहेको गौमुखीको दर्शन गर्न आउँछन् ।

यहाँ हरेक साल पुस मसान्तको साँझ बास बस्ने र माघ १ गते बिहानै ४ बजेदेखि नुहाउने र वर माग्ने भक्तजनहरुको घुइँचो हुन्छ । गौमुखीबाट निस्केको तातोपानीबाट नुहाएमा वर्षभरीको पाप पखालिने र मनोकांक्षा प्राप्त हुने जनविश्वास छ । गाइको मुखजस्तो आकारबाट निस्कने सङ्लो र तातो पानीले नुहाउनका लागि प्यूठान सहित गुल्मि, अर्घाखाँची, बाग्लुङ र रोल्पा जिल्लाबाट समेत मेला भर्नेहरुको भिड हुन्छ ।

 

धार्मिक महत्वका अलावा उच्च हिमश्रृङ्खलाको काखमा रहेको गौमुखीमा अवलोकन गर्नको लागि पुस मसान्तको दिन गएर बास बस्ने चलन छ । ठूलो प्राचीन गुफा पनि भएको हुनाले गुफा हेर्न चाहनेहरूका लागि गौमुखी उपयुक्त ठाउँका रुपमा लिइन्छ ।

हिमाली क्षेत्र भएकाले डाँफे, मुनाल जस्ता चराचुरुङ्गी, लाली गुँरास र नजिकै पञ्चासेको धुरीमा टल्कने हिउँको दृश्य अवलोकन गर्नका लागि प्यूठान सहित छिमेकी जिल्लाबाट हिँडेर यहाँ पुग्ने गरीन्छ । लालीगुराँसले भरिएको यहाँको घनाजङ्गलमा पाइने गुलावी रङको गुराँस विशेष आकर्षण बन्ने देखिन्छ ।

 

संक्रान्तिको मेलामा तीर्थालु/दर्शनार्थीहरुले मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य बृद्धि आदि मनोकामना पूरा गर्न दूधको धार पशुपंक्षीको दाम्लो चढाउने र परेवा उडाउनुका साथै कलम, ध्वजा जस्ता वस्तुहरु पनि चढाउने गरीन्छ । यहाँ मेला अवधिभर बोका पाठाको बलि दिन, मदिरा तथा मासु सेवन गर्न बर्जित छ ।

गौमुखी ऐतिहासिक पर्‍यावरणीय र सांस्कृतिक महत्व व्यापक रहेको भएपनि दुर्गम अवस्थितिका कारण पर्यटकीय पूर्वाधारको अभाव छ । आन्तरिक तथा बाह्य पर्यटनका लागि महत्वपुणर् रहेको गौमुखीमा भौगोलिक बिकटताले ओझेलमा छ । यहाँ आउने तीर्थयात्रीका लागि गौमुखी पुगेर फर्कन अलि कठिन भए पनि ट्रेकिङमा निस्केका पर्यटकहरूले भित्रीकोट, मल्लरानी, गौमुखी सम्मको यात्रा गर्न सक्छन् ।

 

समुद्री सतहबाट १५ सय देखि २५ सय मिटर सम्मको उचाइमा रहेको यो क्षेत्रको गौमुखी क्षेत्र २१ सय मिटर उचाईमा अवस्थित छ । करिब डेढ सय वर्ष अघि बाग्लुङ निसीका तगारा बुढामगर निसेलले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाई ६ फिट चौडाई र ७ मिटर उचाई क्षेत्रफल रहेको गुफा भेटेको किवंदन्ति छ ।

 

त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामाकरण गरेको भनिन्छ । त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रुपमा प्रवाह सुरु हुन्छ । त्यसकै बाहिर पहिले सामान्य मन्दिर रहेकोमा आजभोली अलि ठूलो मन्दिर निर्माण गरीएको छ ।

 

जिल्लाको उत्तरी भेगमा पर्ने दुर्गम गाउँमा पर्ने यो क्षेत्र नेपालको मध्य पहाडी क्षेत्रमा पर्दछ भने जहाँ सबैभन्दा धेरै पारिस्थितिक प्रणालीहरुको विविधता तथा प्राणीहरुको पनि विविधता रहेको पाइन्छ । यसपुर्व साविक अर्खा-९, स्थित अर्तुबाङबाट पैदल हिँडेर गौमुखी पुग्ने गरीएपनि अर्खा ठुलाचौरबाट करिव आधा घन्टा पैदल हिडेर गौमुखि पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय