योगदान राष्ट्रका लागि फाउण्डेसनको अभियान : खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

गिता गौतम, प्युठान खवर । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नारालाई आत्मसाथ गर्दै योगदान राष्ट्रका लागि फाउण्डेसन जिल्ला कार्यसमिति प्युठानको आयोजनामा रक्तसञ्चार सेवा केन्द्र विजुवारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मेघा फर्निचर उद्योग बिजुवार प्युठान र युबा हित मञ्च प्युठानका अध्यक्ष मुक्ति पोख्रेलको सहयोगमा उक्त कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
नेपालमै भर्खरै केन्द्र स्तरमा दर्ता भएको फाउण्डेसन गत शनिवार प्युठानमा गठन भएको थियो । फाउण्डेसनले जिल्लामै केही सामाजिक काम गर्नुपर्छ भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरेको फाउण्डेसनका जिल्ला अध्यक्ष सुनीता केसीले बताउनुभयो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिनुका साथै अस्पतालमा भर्ना भएका बिरामीलाई सहज रुपमा रगत मिलोस भन्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । रक्तदान कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्य संगै अन्य गरी ८ जना व्यक्तिले रक्तदान गर्नुभएको छ । सोही संस्थाका जिल्ला उपाध्यक्ष मधुसुदन पोख्रेलले सामाजिक कार्यमा आबद्ध भै स्वयंम आफैले रक्तदान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

तेस्तै नेपाल रेडक्रस सोसाईटी प्युठान जिल्ला शाखाले रगतको सहज पहुँचका लागि ०६८ सालदेखी आकस्मीक रक्तसेवा र ०७१ सालदेखी रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गरेको रेडक्रस जिल्ला शाखा प्युठानका सभापती गुमानराज पुलामीले बताउनुभयो । मानवीय सेवाको रुपमा यो संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक काममा निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । रगत किनेर, मागेर पाईदैन, सभापती पुलामीले भन्नुभयो,–‘ कसैले दान गरेपछी अर्को व्यक्तिले रगत सजिलै पाउछ ।’ हामीले दिएको एक पिन रगतले अरु कसैको ज्यान बचाउन सकिने हुदाँ १८ वर्षदेखी ६० वर्ष उमेरसमुहका जो कोही व्यक्तिलाई रक्तदान गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । विभिन्न संस्थाहरुले समय समयमा रक्तदान कार्यक्रम गरिदिदाँ सेवा केन्द्र सञ्चालन गर्न सहज भएको उहाँको भनाई छ ।