ट्रेन्डीङ्ग

प्युठान। साउने संक्रान्ति मनाउन घर गएका चार जना मजदुरहरु काममा फर्किंदै थिए । रोल्पाबाट पैदल हिँडेर प्युठान भृंग्रीतर्फ आउँदै थिए । जहाँ बाटो बनाउन खटिएका अन्य ज्यामीहरु बस्थे । उनीहरुले लिन आऊ भनेर खबर गरे ।

 

त्यसपछि बाटोमा रहेका आफ्ना साथीहरुलाई लिन ट्याक्टर लिएर विशाल थापासहित चार जना भृंग्रीबाट अघि बढे । हिँडेर आधा बाटोसम्म आइपुगेका ती साथीहरुलाई लिएर ट्याक्टर फर्किन थाल्यो ।क्याम्प नजिक आउनै लाग्दा स्वर्गद्वारी–२ रुमालेको भीरबाट ट्याक्टर गल्र्यामगुर्लुम खस्यो ।

 

मध्यरातको अँध्यारो त्यसै माथि साँघुरो सडक, अनि घुम्ती कुहिरोले बाटो राम्रोसँग देखिएको थिएन । सडक छिचोल्न गाह्रो प¥यो । अगाडिको इन्जिन बाटोछेउको पिल्लरमा ठोक्किएर भीरतिर सोझियो ।‘म ट्रालीमा बसेको थिएँ । आत्तिएँ, हुत्तिएर बाटोछेउको पिल्लर समात्न पुगेछु’, थापाले भन्नुभयो– ‘ट्याक्टर त भीरमा खसिसकेछ । साथीहरुलाई बोलाएँ, कतैबाट आवाज आएन ।’ उहाँले थप्नुभयो– ‘सोचे अब उनीहरु ज्यूँदा छैनन्, त्यति बेलासम्म ट्याक्टरसँगै साथीहरु पनि तलै पुगिसकेका थिए ।’ ट्याक्टरसँगै खसेकाहरु कोही बाँचेनन् ।

 

तर, भाग्यमानी रोल्पा रुन्टीगढी–५ का २० वर्षीय विशाल थापालाई सामान्य चोटसम्म पनि लागेन । थापा ट्याक्टरबाट हाम फालेर ज्यान जोगाउन सफल भए । ‘साथीहरु ट्याक्टरसहित तल भीरमा खसे । लाइट लगाएर हेर्दा केही देखिँदैनथ्यो । अँध्यारो र हुस्सुले ढाकेको थियो’, थापाले भन्नुभयो– ‘म बाटोछेउको पिल्लर समातेर भीरमा खस्नबाट जोगिएछु ।’ ‘साथीहरुलाई बचाउन सकिन्छ कि भनेर मैले हर प्रयास गरँे । गाउँमा गुहार मागेँ ।

 

केही मान्छे उद्धारमा राति खटिए’ –विशाल थापाको भनाइ थियो ।स्वर्गद्वारी नगरपालिका–२ का वडा सदस्य विष्णु खनालले आइतबार बिहान मात्र घटनास्थल पुगेर जनप्रतिनिधिसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले उद्धार गरेको बताउनुभयो । ‘साउने संक्रान्ति मनाउन घर गएका मजदुरहरु ट्याक्टरमा क्याम्पतर्फ आउँदै हुनुहुन्थ्यो । तर, क्याम्पमा नपुग्दै दुर्घटना भयो’, उहाँले भन्नुभयो– ‘हामी पनि घटनास्थलमा पुग्यौं । भिरालो ठाउँमा शवहरु थिए, त्यसैले निकाल्न धेरै मुस्किल भयो ।’

दुर्घटनास्थलमा उद्वार हुँदै

स्वर्गद्वारी धरमपानीबाट भृंग्रीतर्फ आउँदै गरेको लु१त ४२३४ नम्बरको ट्रयाक्टर शनिबार राति रुमालेमा दुर्घटना हुँदा रोल्पाका सात मजदुरको ज्यान गएको हो । उनीहरु भृृंग्री–स्वर्गद्वारी सडकमा ज्यामीको काम गर्दै आएका थिए ।

 

ट्याक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कवरसहित रोल्पा रुन्टीगढी गाउँपालिका–५ बाइजा निवासी २१ वर्षीया सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १० वर्षीय थमन बाठा मगर, गोवर्धन बुढामगर र २५ वर्षीय कविराम बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । यो खबर नेपाल समाचारपत्र दैनिकमा सलिम अन्सारीले लेख्नुभएको छ ।

दुर्घटना भएको ठाउँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय