ट्रेन्डीङ्ग

गिरुप्रसाद भण्डारी,

प्युठान खवर । कोरोनासँगै यतिबेला सलहको चर्चा बढेको छ । तराईभन्दा पहाडी जिल्लामा यसले खेति बाली नष्ट गरेको छ । नेपालका अन्य जिल्लाजस्तै प्युठान जिल्लामा पनि धेरै क्षति पुर्याएको छ । जिल्लामा सलहले जति क्षति पुर्याएपनि सलहविरुद्धको सरकारी योजना बनेको छैन ।

 

प्यूठानमा पछील्लो एक हप्तादेखि सलहले खेतीबालीमा लाखौंको क्षति पुर्‍याइरहेको छ । यसको रोकथाममा भने स्थानीय तहले कुनै योजना सार्वजनिक गरेका छैनन् । सलह कीरा नयाँ विषय भएकाले यसको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने अन्योल रहेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

 

हूलका हूल सलह कीरा आएर गाउँमा अन्नबालीमा क्षति पुर्‍याउँदा कतैबाट रोकथाम र नियन्त्रणको पहल नभएको अर्खाका स्थानीय मित्र थापाको भनाइ छ । तीन दिनदेखि सलह आउन थालेको उनले सुनाए । सलह गाउँका पाखापखेरामा बास बसेका छन् । ‘झुन्डका झुन्ड सलह छन्,’ उनले भने, ‘मकै, सिमी, धानलगायत बाली सबै सखाप पारिसके ।’

 

गौमुखी गाउँपालिकाका ठूलाचौर, डाँडागाउँ, लुजबाङ, लाम्डाँडा, सिर्पु, हिले, अँधेरीलगायत बस्तीमा सलहले बाली खाएर सखाप पारेको थापाले बताए । पश्चिम क्षेत्रबाट आएका सलहले गौमुखी क्षेत्रमा धेरै क्षति पुर्‍याएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

 

सलह नयाँ विषय भएकाले सामान्य थाल, टिन बजाउने, धूवाँ निकाल्ने कुरा किसानलाई सुझाउनुबाहेक केही गर्न नसकिएको उनको भनाइ छ । सलहले गरेको क्षति अवलोकन गर्न कृषि शाखाका कर्मचारीलाई खटाएको गिरीले बताए । पालिकास्तरबाट मात्र सलह नियन्त्रण गर्न नसकिने भएकाले जिल्ला विपद् व्यवस्थापन समितिमा पनि सलह नियन्त्रणको कुरा उठाएको उनको भनाइ छ ।

 

 

प्यूठान नगरपालिकाले सलह कीराले पुर्‍याएको क्षतिको विवरण संकलन गरेर किसानलाई राहत दिने योजना बनाएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । जिल्लाका अन्य सात स्थानीय तहले पनि सलह नियन्त्रणको ठोस योजना बनाएका छैनन् । रूपन्देही हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टुक्रिँदै प्यूठान आएको हो । सलहले जिल्लाका सबै स्थानीय तहमा बालीनाली खाएर क्षति पुर्‍याएको छ । गिरु प्रसाद भण्डारी : कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय