‘आर्थिक हिनामिनाको विषयमा प्रश्न उठाउँदै आएको थिएँ स्पष्ट पार्न नसके पछि कार्वाही गरियो’

नेकपा मसालका पूर्व प्रवक्ता समेत रहेका विमल शर्मा (आकाश) अहिले नेकपा मसालको कार्वाहीमा पर्नु भएको छ । शर्मालाई केन्द्रिय समितिको सदस्य र अन्य कुनै पनि मोर्चामा नरहने गरि कार्वाही गरिएको नेकपा मसालले बताएको छ । गुटको राजनीति गरेकोे, पार्टी सिद्धान्त विपरित लेख छपाएको, पार्टी विरुद्ध गोप्य दस्ताबेज तयार पार्न सहयोग गरेको लगायतका थुप्रै आरोप लगाउँदै शर्मालाई कार्वाही गरिएको छ । कुनै समय मसालका महामन्त्री मोहन विक्रम सिंहका अत्यन्त नजिकका विश्वाशिला पात्रका रुपमा परिचित शर्मालाई खास किन कार्वाही गरियो ? के पार्टी भित्र गुटको राजनीति चलेकै हो ? के पार्टी फेरी फुटको अवस्थामा पुगेको हो ? लगायतका विषयमा उनै शर्मासँग इपरी न्युज अनलाइनका सह–सम्पादक प्रकाश छन्त्यालले गरेको कुराकानी ।

तपाईंलाई ईपरी अनलाइनमा हार्दिक स्वागत छ ।
धन्यवाद ।

तपाईं अहिले ने.क.पा. (मसाल) को पार्टी सदस्य समेत नरहनेगरी निष्कासनमा पर्नु भएको छ । त्यस्तो किन भएको हो ?
ने.क.पा. (मसाल)ले मलाई निष्कासन गरेको कुरा सामाजिक सञ्जालबाट जानकारी भयो । तपाईंले सार्वजनिक भएको जुन परिपत्र देख्नु भयो होला मैले पनि त्यही परिपत्रद्वारा नै थाहा पाएँ । मलाई पार्टीको कुनै जिम्मेवार व्यक्ति वा आधिकारिक पत्रद्वारा कुनै जानकारी गराइएको छैन । लगाईएका आरोप बारे कुनै छानवीन वा स्पष्टिकरण समेत लिइएको छैन ।

 

एउटा कम्युनिस्ट पार्टीले कुनै सदस्यलाई अनिश्चित कालको लागि निष्कासन गर्नु पूर्व सामान्य नियम, पद्धति तथा विधानको ख्याल गर्नुपर्ने हो । तर मेरा बारेमा ती सबै विषयलाई छाडेर एकपक्षीय रूपमा आरोपहरू लगाएर निष्कासन गरिएको छ । पार्टीको विधान तथा नियमावलीको आधारमा कुनै तथ्यमा पुगेर त्यो कार्य गरिएको प्रमाण पेश भएको भए न्यायसङ्गत हुन सक्दथ्यो । मैले कुनै गल्ती वा कमजोरी गरेको भए स्पष्ट विवरणका आधारमा कारवाही गरिनु पर्दथ्यो । मलाई यस्तो किन गरियो त्यसबारे मैले भन्न सक्ने कुरा भएन ।

 

खासमा तपाईंहरूले पार्टीको नीति विपरितका गतिविधि गरेकै कारण कार्यावाहीमा पर्नु भयो वा भिन्न मत राखेकै आधारमा कार्यवाहीमा पर्नु भएको हो ?

पार्टी नीति विपरीत गतिविधि गरेका कारण होइन कि पार्टी सदस्यलाई दिएको अधिकारभित्र रहेर पार्टीले लिएका गलत नीतिको विरोध गरेको र भिन्न मत राखेका कारणले यो कार्य गरिएको हो । मैले पार्टी भित्र पहिले देखि नै र पी०वी०मा रहँदादेखि राजनीतिक, सङ्गठनात्मक, कार्यप्रणालीगत तथा आर्थिक हिनामिनाका विषयमा आवाज उठाउँदै आएको थिएँ । ती विषयबारे मलाई स्पष्ट गर्न नसकेपछि मलाई निष्कासन गरिएको हो भन्ने मैले बुझेको छु ।

 

एउटा कम्युनिस्ट पार्टीभित्र एउटा पार्टी सदस्यले भिन्न मत राख्न र गलत पद्धतिको विरोध गर्न पाइन्छ । यदि कसैले पार्टीभित्र भिन्न मत राख्न पाईँदैन भन्दछ भने त्यो नोकरशाही पद्धति हो । नोकरशाही पद्धतिसित माक्र्सवादी–लेनिनवादी पार्टीको कुनै साइनो हुँदैन । माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले त पार्टीभित्र आफ्ना विचारहरू खुलस्त राख्न पाउनु व्यक्तिको स्वतन्त्रता हो भनेर मान्दछ । पार्टीले पनि भिन्न मत राख्न पाईँदैन भनेर कहिल्यै भन्दैन । दस्तावेज, लेख, वक्तव्यमा भिन्न मत राख्न पाइन्छ भनेर नै व्याख्या गर्दछ । तर व्यवहारमा त्यसको ठिक विपरित भिन्न मतलाई दवाउने, कारवाही गर्ने निष्कासन गर्ने कार्य गरिएको छ ।

 

तपाईंका पार्टीभित्र के के मतभिन्नता थिए त्यसबारे बताइदिनुहोस् न ।
आठौँ महाधिवेशनको दौरानमा केन्द्रीय समितिको बहुमतद्वारा पेश गरेको राजनीतिक दस्तावेजप्रति हाम्रा भिन्न मत रहेका कारणले हामीले अलग्गै दस्तावेज पेश गरेका थियौँ । पार्टीले चुनावलाई उपयोग गरेर संसदीय प्रणालीको भण्डाफोर गर्ने होइन कि चुनाव जित्ने मात्र उद्देश्य राखेर प्रतिक्रियावादी शक्तिसित समेत मिलेर चुनाव जित्ने नीति अपनाउनु, चुनावका बेलामा असमान ढङ्गले सहमति गर्नु, केन्द्रीय समितिको निर्णयलाई महामन्त्रीद्वारा उल्लङ्घन गर्नु, पार्टीका नीति विपरित लेख वक्तव्य जारी गर्नु, सङ्गठन निर्माणबारे उपेक्षा गर्नु, भूमिगत कार्यप्रणालीलाई छाड्दै जानु, दलाल नोकर शाही पूँजीपति वर्गको पिछलग्गु हुँदै जानु, पार्टीको साङ्गठनिक गोपनीयतालाई नेतृत्वले नै सार्वजनिक गर्नु, भारतीय विस्तारवाद सँगकोे सङ्घर्ष शत्रुतापूर्ण होइन, मैत्रीपूर्ण भनेर व्याख्या गर्नु, कुनै पार्टीसित एकता गर्दा सामूहिक निर्णयका आधारमा होइन कि महामन्त्रीको एकल निर्णयका आधारमा मात्र गर्नु, अनुशासन विभागलाई भिन्न मत दबाउन प्रयोग गर्नु, पार्टीको विधान अनुसार शुद्धीकरण सञ्चालन नगर्नु आदि विषय छन् ।

 

त्यसका साथै पार्टीको नेतृत्व तहबाट नै नीति, नियम अनुशासन, नैतिकता, आर्थिक विषयमा गरिएको अनियमितताबारे तथ्यका आधारमा आरोप पत्र दर्ता भएको थियो । पार्टीको गलत कार्यप्रणालीबारे महाधिवेशनमा छलफल हुनुपर्दछ भनेर प्रस्ताव थियो । त्यो प्रस्तावका साथै नेतृत्वद्वारा गरिएका गलत क्रियाकलाप, आर्थिक अनियमितताका विषयमा अन्य कैयौँ प्रस्तावहरू दर्ता भएका थिए । तर महाधिवेशनले हाम्रा ती विषयलाई नजर अन्दाज गर्यो र बहुमतको राजनैतिक प्रतिवेदन, न्यूनतम कार्यक्रम, सङ्गठनात्मक प्रस्तावलाई नै पारित गरेको थियो । त्यति मात्र होइन, महाधिवेशनमा स्वयं बहुमतद्वारा प्रस्तुत ती दस्तावेजहरू प्रस्तुत र पारित भएपछि महाधिवेशनका दस्तावेज प्रकाशित गर्दा नेतृत्वद्वारा ती दस्तावेजहरूमा आफूखुसी परिवर्तन गरिएको छ । पा“चौ महाधिवेशनमा जसरी दस्तावेजमा परिवर्तन गरिएको थियो । त्यसै गरी आठौँ महाधिवेशनका दस्तावेज प्रकाशित गर्दा दस्तावेजमा आफूखुसी परिवर्तन गरिएको छ । त्यस विषयमा विगत वर्षदेखि पार्टीभित्र सङ्घर्ष चल्दै आएको थियो ।

 

ने.क.पा. (मसाल)मा पछिल्लो समयमा तीव्र गतिमा कार्वाही गरिदैंछ किन होला ?

ने.क.पा. (मसाल)ले भिन्नमत राखेका कारणले नै धेरै पार्टी सदस्यलाई तीव्र गतिमा कार्यवाही गरेको कुरा स्पष्ट छ । तीव्र रूपमा जुन साथीहरू कारवाहीमा पर्नुभएको छ, ती साथीहरू अल्पमतको विचारसित नजिक हुनुहुन्थ्यो । म निस्कासित भएपछि कैयौँ साथीले सम्पर्क गरेर ‘हामीले पार्टीले लिएको गलत लाइन तथा कार्यप्रणालीको विरोध गरेर केन्द्रमा पत्र दर्ता गराएका कारण हामीलाई कारवाही गरिए झै तपाईंलाई पनि त त्यही होला’ भन्नुभएको छ । पार्टी नेतृत्व सदस्यले उठाएका सही कुराहरूसित आत्तिएको, दबाबमा परेको देखिन्छ । त्यही कारणले बहुमतको नीतिलाई सही देखाउन भिन्न मत व्यक्त गर्ने सदस्यहरूलाई तीव्र गतिमा कारवाही गर्नुले कार्यवाही कुन विचारप्रति लक्षित छन् ? स्पष्ट नै छ । के बहुमत पक्षधरले कुनै गल्ती गरेका छैनन् ? त्यसो होइन ।

 

बहुमत पक्षका केन्द्रीय सदस्यहरू समेतले विभिन्न स्थानमा पार्टी नीति विपरित कैयौँ’ गल्ती गरेका प्रमाणहरू छन् । ती प्रमाणहरूलाई लामो समयदेखि पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराइएको छ । तर केन्द्रले ती सबै पत्रहरूलाई रद्दिको टोकरीमा फालेको छ । पार्टीको एउटा आम प्रचलन र नीति के हो भने कुनै नया“ विषयमा महामन्त्री र प्रवक्ताले नबोल्दासम्म वा वक्तव्य जारी नगर्दासम्म अरू पार्टी सदस्यले आफ्ना विचारहरू सार्वजनिक गर्न मिल्दैन । तर आजकल तपाईंले सामाजिक सञ्जाल हेर्नुहोस् जनवर्गीय सङ्गठनको नेतृत्वमा रहेका पार्टी सदस्यले समेत पार्टी नीति विपरित कैयौँ विचार सम्प्रेषण गरेको देखिन्छ । पार्टीका कैयौँ नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीको नीतिसित मेलन नखाने विचारहरू प्रकट गरेका छन् । सबैलाई पार्टीले कारवाही गरेको छैन । तर विचारका आधारमा व्यक्ति हेरिकन कारवाही गरिएको छ ।

 

ने.क.पा. (मसाल)मा पनि गुटको राजनीति मौलाएकै हो त ?

ने.क.पा. (मसाल)को केन्द्रिय नेतृत्व र समितिबाट गुटको राजनीतिलाई मलजल गर्ने काम भएको छ । भिन्न मत राख्ने सदस्यहरूप्रति जुन प्रकारको रवैया अपनाइको छ । त्यसले त्यो कुरालाई पुष्टि गर्दछ । नेतृत्वले कुन व्यक्ति कसको पक्षमा लाग्यो भन्ने आधारमा विचार बनाउने त्यसैलाई आधार बनाएर कार्यालय, पीवीले निर्णय गरेको देखाएर आफ्नोे पक्षमा नलागेकालाई छानीछानी कारवाही गर्ने काम भएको छ । त्यस विषयमा एउटा उदाहरण दिऊँ– यो सबैलाई थाहा भएको कुरा हो कि ने.क.पा. (मसाल)ले पछिल्लो पटक सभामुखको चयन प्रकृयामा आफ्नो विरोध जनाएको थियो । तर पार्टीले आफ्नो विचार बाहिर नल्याउँदै बैधानिक मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखलाई आफ्नो तर्फबाट तथा पार्टीकोतर्फबाट शुभकामना दिनुभयो ।

 

यो पार्टीको नीतिको उल्लङ्घन थियो । त्यसबारे केन्द्रलाई जानकारी गराउँदा समेत केन्द्रले उहाँलाई कुनै कारवाही गरेन । उहाँले गल्ती भएको स्वीकार समेत गर्नु भएन । पार्टी महामन्त्रीले आठौँ महाधिवेशनले प्रतिक्रियावादी भनेर किटानी गरेको दल (मधेशवादीदल), जो भारतद्वारा आफ्नोे स्वार्थ पूर्ति गर्नका लागि बनाइएका दल हुन् र तिनीहरूले नेपालको हितमा होइन र भारतीय साम्राज्यवादको स्वार्थ अनुसार काम गर्दछन्, भनेर व्याख्या गरेको प्रतिक्रियावादी सङ्गठनलाई “राष्ट्रियताप्रति प्रतिबद्ध” भएको भनेर आप्mनो बक्तव्यमा व्याख्या गर्नुभएको छ । यो आठौँ महाधिवेशन तथा पार्टीको नीतिको उल्लङ्घन हो । तर महामन्त्रीले नीति विपरित वक्तव्य दिँदा, व्याख्या गर्दा उहाँलार्ई कुनै कारवाही हुँदैन । यस्तै थुप्रै उदाहरणहरू छन् । यसरी के देखिन्छ भने जसले नेतृत्वको गलत कार्यप्रणाली, गलत नीतिको विरोध ग¥यो उनीहरूलाई छानीछानी तीव्र रूपमा कारवाही अगाडि बढाइएको छ । तर नेतृत्वको पक्षमा लागेपछि गल्ती, कमजोरी वा अनुशासन विहिन कार्यलाई पनि छुट दिइन्छ ।

 

तपाईंहरूले पार्टी फुटाल्न लागेकै कारण कार्यवाहीमा पर्नु भएको हो ?
होइन । मलाई कारवाही गर्नुको कारण मैले पार्टीभित्र उठाएका गलत नीतिको विरोध, नेतृत्वका गलत क्रियाकलाप तथा गलत कार्यप्रणालीको विरोध नै हो । पार्टीले गलत नीति अपनाउँछ भने गलत नीतिका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । सहि नीति अख्तियार गरेपनि त्यसलाई व्यवहारमा लागु गर्दैन र सिद्धान्त र नीतिमा क्रान्तिकारी लेखिने तर व्यवहार भने त्यसका विपरित गर्ने कार्य हुन जान्छ भने त्यहाँ अवश्य द्वन्द्व हुन्छ । त्यो द्वन्द्वले सधैँ फुटको अवस्था ल्याउदैन । तर द्वन्द्वलाई सहि व्यवस्थापन गर्न सकिएन भने अवश्य पनि फुट हुन्छ । एकातिर नीति अर्को तिर व्यवहार यस प्रकारको परिस्थितिले निश्चित रूपमा फुट ल्याउँन सक्दछ । पार्टी फुटाउन खोजेको भन्ने कुरा सही होइन । जहा“सम्म कार्यवाही गरिएको प्रश्न छ गलत नीति र व्यवहारका विरुद्ध पार्टी सदस्यलाई दिएको अधिकार प्रयोग गरेर विरोध गरेको कुरा सा“चो हो ।

 

कार्यवाहीको सामना कसरी गर्दै हुनुहुन्छ ?
कम्युनिस्ट आन्दोलनको इतिहास बोकेको नेतृत्व पंक्तिका नीति, विचार, दृष्टिकोण, राष्ट्रियता, सांस्कृतिक धरातल, नैतिकता आदि विषयमा तथ्यका आधारमा बोल्नु आवश्यक हुने छ । जसले क्रान्तिकारीताको नाममा गलत राजनीति र सङ्गठनबारे भ्रम पारिरहेको छ । पार्टी बाहिरकालाई गलत र भ्रष्टाचारी भनेर नथाक्ने नेतृत्वतह आफुले राजनीतिक, आर्थिक, सांस्कृतिक र व्यवहारिक भ्रष्टाचारमा लिप्त हुने जुन स्थिति सिर्जना गरिएको छ, त्यसबारे पार्टीमा रह“दा पटकपटक पार्टीलाई सुधार गर्ने उद्देश्यले विचारहरू राख्दै आएको थिए । अब बाहिरबाट ती विषयहरूमा सुधार गराउन प्रयत्न हुनेछ ।

 

सङ्गठनभित्र रहेर आफ्नोे मतभेद चलाउने अवस्था समाप्त भएको छ । मेरा प्रयत्नहरू कति सफल भए वा भएनन् त्यसको बेग्लै समीक्षा हुने छ । पार्टीलाई सुधार गर्न पार्टी बाहिरबाट गर्न सकिने कामलाई आवश्यकता अनुसार अगाडि बढाउने छु । मैले पार्टीमा प्रस्तुत गरेका प्रस्ताव र पत्रहरूबारे सार्वजनिक रूपमा उल्लेख गर्दा अहिले लगाइएका आरोप भन्दा बढी आरोपहरू लाग्न सक्दछन् । मेरा विरुद्ध मसालभित्र रहेका केही पूर्वाग्रही व्यक्तिहरु लाग्ने छन् । त्यसको आधारमा मैले आफ्ना विचारहरू प्रकट गर्दै जानेछु । मुख्यतः ने.क.पा.(मसाल)मा भएका सकारात्मक र नकारात्मक विषयलाई मसाल कार्यकर्ताहरूले पनि सहि प्रकारले बुझ्नुपर्दछ भन्ने मेरो विचार छ ।

 

यस्तै परिस्थिति रहे पार्टी फुट्छ त ?
पार्टीमा फुट हुन्छ वा हुँदैन भन्ने कुरा पार्टीले लिने नीतिमाथि निर्भर हुने कुरा हो । एउटा कम्युनिस्ट पार्टीमा जहिले पनि अन्तरसङ्घर्ष चल्दछ, द्वन्द्व, विवाद हुन्छ । त्यतिले मात्र पार्टीमा फुट हुँदैन । रुसमा लेनिनको समयमा १९०७ मा पाँचौ महाधिवेशन लण्डनमा हुँदा उनीहरू एकै स्थानमा थिए । बोल्सेभिक र मेन्सेभिकहरूको अन्तर्विरोधमा गलत बाटो लिएका मेन्सेविकहरूले बहुमत पुराएको पनि इतिहास छ । तर अल्पमतमा रहेका बोल्सेभिकहरूलेपछि क्रान्तिको नेतृत्व गरेका थिए । इतिहाँसले को सही हो वा होइन भन्ने कुराको पुष्टि गरिदिन्छ । जब पार्टीभित्र हुने अन्तरसङ्घर्ष, द्वन्द्व वा विवाद सच्चिनै नसक्ने स्थितिमा पुग्दछ त्यसपछि पार्टी एउटै रहनै सक्दैन । अहिलेको परिस्थितिमा मलाई के लाग्दछ भने ने.क.पा. (मसाल) सच्चिनै नसक्ने स्थितिमा पुगिसकेको छ भन्ने लाग्दैन ।

 

अहिले पनि पार्टीलाई सच्चाउने कार्यमा लाग्नुपर्दछ । पार्टीभित्र रहेका साथीहरूले पार्टीभित्रबाट सच्चाउनुपर्दछ भने बाहिरका व्यक्तिहरूले बाहिरबाट । यो कुरा बेग्लै हो कि मसालको नेतृत्वले पार्टीलाई फुटाउन चाहन्छ, किनभने पार्टीमा फुट नभएसम्म आफ्नो विरासद, इतिहास कायम रहन सक्दैन भन्ने देखिइरहेको छ । मेरो के अनुरोध छ भने पार्टीलाई फुटालेर होइन, एकढिक्का बनाएर अगाडि बढाउनुपर्दछ । तर सच्चिनै नसक्ने परिस्थिति सृजना भयो भने पार्टी एउटै रहैँदन । एउटा कम्युनिस्ट पार्टी कसैको निगाहले चल्ने होइन नीति, पद्धतिका आधारमा चल्ने हो । नीति, पद्धति र कार्यप्रणालीले गलत बाटो समात्यो भने पार्टी फुट्ने मात्र होइन, समाप्त हुन्छ । विश्व र नेपालको कम्युनिस्ट आन्दोलनले पनि त्यो कुरा प्रमाणित गरेको छ ।

 

पार्टी कसरी चलोस भन्ने चाहानु हुन्छ ?
अहिले पनि ने.क.पा. (मसाल)ले आफूलाई सुधारेमा नेपालका अन्य राजनीतिक पार्टीभन्दा सही दिशा समात्न सक्ने सभावना छ । पार्टीले गलत नीति, प्रकृया र पद्दति अपनाएको छ । जब गलत नीति, प्रक्रिया र पद्धतिलाई मलजल गर्दछ उसले सही माक्र्सवादी–लेनिनवादी पद्धति अपनाउन सक्दैन । आठौँ महाधिवेशनले नीतिगत रूपमा दक्षिणपन्थी नीति पारित गरेको छ । व्यवहारमा पनि गलत कार्यप्रणाली अपनाएको छ । यी सबै विषयमा सच्चिनुपर्दछ । माक्र्सवाद–लेनिनवाद–माआत्सेतुङ विचारधाराको आधारमा नीति, अनुशासन, वर्गसङ्घर्ष संघर्ष संचालन गरेर देश, जनताको पक्षमा काम गरोस् । पार्टी विधान, नीयम, पद्दतिका आधारमा चलोस् । अहिले पार्टीभित्र सञ्चालन गरिएको शुद्धीकरण कार्यक्रम पार्टीको विधान अनुसार चल्नु पर्दथ्यो ।

 

शुद्धीकरणलाई माओले “माक्र्सवादी शिक्षाको एउटा व्यापक आन्दोलन” बताएका छन् । माओको भनाई छ “हामीहरूभित्र अझै पनि कमीहरू छन् र यस कुरालाई पनि एउटा तथ्यको रूपमा ठोकुवा गर्नै पर्छ । हामीले आफ्नो हरेक कुरालाई ठोकुवा गर्नु हुँदैन । बरु सही कुरालाई मात्र ठोकुवा गर्नुपर्दछ । यसका साथै हामीले आफ्नो हरेक कुरा नकार्नु हुँदैन । खाली बेठिक कुरालाई मात्र नकार्न पर्दछ । हाम्रा उपलब्धीहरू हाम्रा काममा मुख्य चिज हुन तापनि तीनमा कमीहरू र गल्तीहरू कम छैनन् । हामीलाई शुद्धीकरण आन्दोलनको खाँचोे परेको कारण यही हो । हामीले आफुभित्रको मनोगतवाद, नोकरशाही र सङ्कीर्णतावादको आलोचना गर्यौँै भने के यसबाट हाम्रो पार्टीको इज्जतमा नोक्सान पुग्ला । मेरो विचारमा त्यसो हुने छैन ।

 

बरु यसको उल्टो यसबाट हाम्रो पार्टीको इज्जत नै बढ्ने छ ।” “कम्युनिस्ट आलोचनादेखि डराउ“दैन, किन भने हामी माक्र्सवादी हौ“ ।” (दर्शन बारे ५ कृति, पृ. १०२–३) स्तालिनले पनि आन्दोलनलाई सफल बनाउन “उचित आत्मालोचना विना पार्टी, वर्ग तथा जनसमुदायलाई उचित शिक्षा दिन सम्भव छैन । पार्टी वर्ग र जनसमुदायलाई शिक्षा नदिइकन बोल्सेभिकवाद हुनै सक्दैनन्” बताएका छन् । स्तालिनले उक्त कुरा नोकरशाही तत्वको विरुद्ध जुद्धने क्रममा भनेका हुन् । उनले अगाडि भन्दछन् –“मैले उल्लेख गर्न चाहेको नोकरशाही तत्व हाम्रो गल्ती तथा कमजोरीहरूलाई बढाउने, जनसमुदायले गर्ने आलोचनासँग प्लेग सरह डराउने, हामीलाई आत्मालोचनाको विकास र गल्ती कमजोरी नामेट पार्ने हाम्रो प्रयासका विरुद्ध काम गर्दछ ।” माओ तथा स्तालिनका यी भनाईहरुबाट शिक्षा लिदै पार्टी अगाडि बढ्नु पर्दछ । पार्टीभित्र नेतृत्वको नोकरशाही एकाधिकारवाद तथा अन्य साथीहरूको दब्बुपनमा सुधार होस् भन्ने मेरो चाहना छ ।

 

अव तपाइले के गर्नु हुन्छ ?
मैले नेपालको कम्युनिस्ट आन्दोलन, विश्वको कम्युनिस्ट आन्दोलनलाई सहयोग पुग्ने गरी, कम्युनिस्ट पार्टीभित्र देखिने गलत पद्धतिका कारण कसरी कम्युनिस्ट आन्दोलन समाप्त हुँदैै गइरहेको छ । नेपालका कम्युनिस्टहरूले किन कम्युनिस्ट आचरण देखाउ सक्दैनन्, जनताका पक्षमा किन काम गर्न सकेनन्, लामो समय एउटा कम्युनिस्ट पार्टीमा काम गर्दा के कमजोरी रहे र के उपलब्धि भए आदि विषयहरूमा थप अध्ययन गर्ने तथा आफ्नोे स्थानबाट देश र जनताको पक्षमा जति योगदान दिन सकिन्छ योगदान दिने छु । देश र जनताका पक्षमा कामगर्ने बाहेक अहिले अन्य कुनै योजना बनाएको छैन ।