प्यूठान जिल्लाका केही प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बारे जानकारी

प्राकृतिक हिसावले निक्कै सुन्दर छ प्यूठान जिल्ला । त्यसैले त यहाँ आइपुग्ने कतिले भन्छन् ‘कता–कता युरोपियन मुलुक स्वीजरल्याण्डको झल्को दिन्छ, प्यूठान जिल्लाले । राजनैतिक रुपमा बमपन्थी विचारको उर्वरभूमि मानिने प्यूूठान जिल्ला धार्मिक हिसावले पनि निक्कै लोकप्रिय छ । विशेषतः स्वर्गद्वारीको कारणले प्यूठान जिल्ला नेपाल र छिमेकी मुलुक भारत लगाएतका अन्य देशहरुमा पनि प्रख्यात छ ।  पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङ्गको भालुवाङ्गबाट ६४ किलोमिटर कालोपत्रे सडकबाट प्यूठान सदरमुकाम खलंगा आउन सकिन्छ । खलंगा, विजुवार, बाग्दुला, दाखाक्वाडी, चकचके, मच्छी, भिंग्री, देवीस्थान, बहाने, बरौला, बड्डाँडा, दरभान, ठूलाबेशी, चुँजाठाटी, खरीबोट, जुम्री आदी जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

सामान्य परिचय ः
नेपालको साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र हाल ५ नं. प्रदेश अन्र्तगत रहेको पहाडी जिल्ला मध्ये प्यूठान पनि एक हो । यस जिल्लाको दक्षिण भाग चौडा र पूर्वी तथा पश्चिमी भागबाट सागुरिदै गएर उत्तर तर्फ झन साघुरिएको छ । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला पर्दछन् । प्यूठान जिल्ला पहाडी तथा भौगोलिक संरचना विषम खालको भएकोले यहाँको हावापानि पनि भिन्दा भिन्दै खालको छ । यहाँ लेकाली, समशितोष्ण र अर्ध–उष्ण हावापानी पाइन्छ । राज्यको दक्षिण पूर्ववाट वहने दक्षिण–पश्चिमी मनसुनी वायुको प्रभावले यस जिल्लामा जेठ देखि असोज सम्म वर्षा हुन्छ । यहाँ वार्षिक वर्षा सरदर १३०० मीलीमीटर भएको पाइन्छ । समग्रमा भन्नुपर्दा प्यूठानमा स्वास्थ्यका दृष्टीकोणले उपयुक्त हावापानी रहेको मानिन्छ । प्यूठान जिल्लाको सामान्य परिचय यस प्रकार छ ।
जिल्ला                   : प्यूठान
सदरमुकाम            : खलंगा
सदरमुकाम उचाई  : १२८० मी.
निर्वाचन क्षेत्र           : २
इलाका                   : ११
गाउँपालिका           : ७
नगरपालिका          : २
जिल्लाको कुल क्षेत्रफल  : १३०९ बर्ग कि.मि.
देशान्तर                         : ८२०३०” देखि ८३० पूर्वी देशान्तर
अक्षाशं                           : २७०५५’ देखि २८०२५’ उत्तरी अक्षाशं
उचाई समुन्द्र सतह देखि :
अधिकतम              : ३६५९ मी.
न्यूनत्तम                  : ३०५ मी.
हावापानी               : उष्ण, समशितोष्ण र शित
वार्षिक वर्षा सरदर  : १३०० मी.मी.
तापक्रम :
अधिकतम : ३२.५ डिग्री सेल्सियस (बि.सं २०६७ जेष्ठमा )
न्यूनतम     : ११.८ डिग्री सेल्सियस

प्रमुख केहि पर्यटकिय एवं धार्मिक स्थानहरु बारे जानकारीः–

(१) स्वर्गद्वारी आश्रम

(२) गौमुखि

(३) ऐरावती

(४) झाक्रिस्थान

(५) भित्रीकोट

(६) अर्खा बाइसमुल झरना

(७) लुङ्गको दिवाली

(८) तिहारमा लाग्ने जात्रा

१ . स्वर्गद्वारी आश्रम :
प्यूठान जिल्लाकोे स्वर्गद्वारी, साबिक खाल गा.वि.स. वडा नं. २ मा हाल स्वर्गद्वारी नगरपालिकामा अवस्थित स्वर्गद्वारी तपो भुमी समुन्द्र सतह देहि ७००० फीटको उचाईमा पर्दछ । २६०० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ । सत्य यूगमा देवताहरुले यात्रा गरेको, पाँच पाण्डवहरु सिधै स्वर्ग प्रस्थान गरेको यस तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपस्वि श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आयपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्डमहायज्ञसुरु गर्नु भएको हो । विश्व शान्तीको लागि संचालीत अखण्ड यज्ञको अग्नी हालसम्म पनि निरन्तररुपमा वलिरहेको छ ।
स्वर्गद्वारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफाबाट प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्रीं माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै फिर्ता हुने गर्नु हुन्थ्यो भन्ने चलन छ र हाल उक्त गुफाको द्वारलाई स्वर्गको द्वार (स्वर्ग जाने बाटो) र गुप्तीसागर भन्ने चलन छ ।
प्रभुलाई शिवकोे अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुँजा गरिन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पूर्ण पुजा, अग्नीको हवन गर्ने विधी विधानवाट सञ्चालीत हुन्छ । विश्वमा हिन्दुहरुको संस्कार अनुसार चलेको तीर्थाटन स्वर्गद्वारी मात्र रहेको शंकराचार्य जयन्द्र सरस्वतीको भनाईले यसको महत्वलाई पुष्टि गर्दछ । साथै समतल टाकुराबाट हिमशिखरहरु र रमणीय दृष्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ ।  बेदद्वारा अग्नि स्थापना गरि दिप प्रज्ज्वलीत भएको विगत १९५२ देखि देखि निरन्तर अग्नि जलीरहेको विश्वमा नै एउटा प्रतिक रहेको हवनकुण्ड हो । यहाँ घिउद्वारा पुँजा (होम) गरिरहने हवनकुण्ड आश्रम भित्र रहेको छ । बेद गुरुहरुद्वारा पुँजा गरिने उक्त हवनकुण्डको विभुती प्रसादीको रुपमा ग्रहण गरिन्छ । उक्त विभुती ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास छ ।

प्रभुको १९९७ मा मृत्यू हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए भने हाल गाई गोरु करीब ५०० र भैसी २५ वटा रहेका छन । यिनीहरुको पालनपोषण गर्न ३० जना ग्वालाहरु रहेका छन् । दुध घिउवाट आश्रमको नित्य पुंजा र आउने पाउनाहरुलाई चियाको व्यबस्था गर्ने गरिएको छ । साथै करिव १०० रोपनी जग्गामा गाई भैसीको गोवरबाट अत्यन्त मलिलो माटोमा उत्पादन हुने आलु, भाजी सागको साथ आउने भक्तजनहरुलाई थोरै शुल्क मात्र लिएर बि.स.ं २०६७ सालदेखि खाना खुवाउने व्यबस्था रहेको छ । आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरुमा वैदिकविधी पूर्वक दैनिक ३ पटक पुँजा गरिन्छ । तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौ हजार भक्तजनसमेतको उपस्थितीमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ ।

 

आश्रमदेखि माथि पट्टिको डाडामा शिद्धवावाको मन्दिर रहेको छ र त्यसमा महिनाको पहिलो आईतवार पुंजा गर्ने प्रचलन रहेको छ ।
आश्रमको आम्दानी बाट आश्रम भित्रनै वेद पाठशालाको स्थापना गरिएको छ । वेद गुरुद्वारा पढाईने उक्त पाठशालामा वेद, रुद्री, चण्डी, अग्नि र अमरकोषको अध्यापन गराईन्छ । हाल २० जना भन्दा बढी विद्यार्र्थीहरु अध्ययनरत छन । त्यहांबाट उत्पादन भएका जनशक्तिहरु आश्रमकै लागि तयार गरिन्छ । स्वर्गद्वारी आश्रम प्यूठानको २६०० रोपनी जग्गा बाहेक दाङ जिल्लाका विभिन्न ठाउमा १०५० विघाह जमिन रहेको छ । त्यहाबाट उत्पादन हुने खाद्यान्नबाट स्वर्गद्वारीको दर्शनमा आउने भक्तजनहरु र त्यहा कार्यरत सम्पूर्णलाई भोजन र आवासको व्यबस्था गरिन्छ । सम्पूर्ण व्यबस्थापन हेर्ने एक जना व्यबस्थापक र स्टोर हेर्न एक जना भण्डारेको व्यबस्था छ । यसको मुख्य कार्यालय, त्रिभुवन नगरपालीका वडा नंं. ११को झीगौरामा रहेको छ भने प्यूठानको स्वर्गद्वारी र दाङ जिल्लाकै देउखुरी चौलाही मा पनि कार्यालय रहेको छ ।

आश्रममा मुख्य मेला बैषाख पुर्णीमा, जेष्ठ, भाद्र, कार्तिक र माघे सक्रान्तिमा लाग्ने गर्दछ र यहाका मुख्य तिर्थयात्रीहरु भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन भने नेपालका आन्तरीक तिर्थयात्रीहरु रहेका छन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङ देखि उत्तर १० कि.मि. पुगे पछि प्यूठानको सीमामा पुगिन्छ । त्यहा देखि ३२ कि.मि. देविस्थान चकचके पुगे पछि प्यूठान सदरमुकाम जाने सडक छोडी रोल्पा जाने सडक हुदै भिगृ बजार १९ कि.मि. पुगेपछि त्यहा देखि हालै संचालित बस यात्राद्धारा १.५ घण्टामा, (अथवा पैदल ४ घण्टामा), (अथवा घोडा द्वारा) २२०० मिटर अग्लो डाडा स्वर्गद्वारी पुगिन्छ । प्यूठानको भिगृ बजार देखि धनवाङ स्वर्गद्वारी सडक कालोपत्रे निर्माण कार्य चलीरहेको छ ।

२. गौमुखि :
प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौमुखी प्यूठान जिल्लाको उत्तर–पूर्व साबिक अर्खा गा.वि.स.को वडा नं. १ (हाल गौमुखी गा.पा. १), गुल्मी तथा वाग्लुङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ । झिम्रुक (धर्मावती) नदीको उद्गमस्थल यस स्थानको गुफाको कुनामा रहेको गाईको मुखजस्तो आकारबाट छङछङ गरी पानी निक्लने हुँदा यसलाई गौमुखि भनिन्छ । यस स्थानलाई पवित्र धार्मिक एवं सांस्कृतिक थलो मानि हजारौ भक्तजनहरु आउने गर्दछन् । यहाँ हरेक वर्ष माघे सक्रान्तिको अवसरमा भब्य मेला लाग्ने गर्दछ भने अन्य समयमा पनि सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने जाने गर्दछन ।
एकान्त स्थलमा अवस्थित गुफाको आसपासमा झुलेका लालीगुँरास, डाँफे र मुना, हिउँले सजिएको पञ्चासेको लेक आदि प्राकृतिक छटाले सुसम्पन्न अवस्थामा रहेको गौमुखीको महत्व र महिमालाई बुझी यसलाई सरकारी एवं नागरिक समाजको तर्फबाट विकास र विस्तार गर्नु पर्दछ र हुँदै पनि आइरहेको छ ।

३. ऐरावती :
भालुवाङ प्यूठान सडक बाटोमा पर्ने बड्डाडा बजारदेखि करिव ४.५ घण्टाको पैदल यात्रा पार गरी माण्डवी नदी माथि वनेको झोलुंगे पुल तरिसकेपछि पूर्व तर्फ करिव २० मि. को पैदल दुरीमा पूर्वमा अर्घाखाँचीको जलुके, पश्चिममा प्यूठानको हंशपुर, उत्तरमा दाङवाङ र दक्षिणमा हंसपुरको बिचमा पर्दछ । गौमुखिबाट बहदै आउने झिमरुक नदी र रोल्पाको जलजला उद्गम स्थल भै बहदै आउने माण्डवी नदीको संगम स्थलनै हो ऐरावती । दुवै नदीको दोभान भएको यस स्थलमा हरेक वर्ष मकर स्नानका लागि तीर्थ यात्रीहरु आउने गर्दछन । माघे सक्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । प्यूठान, दाङ, कपिलवस्तु, अर्घाखाँची, लगायतका मित्र राष्ट्र भारतबाट पनि श्रद्धालुहरु मकर स्नान गरी पुण्य कमाउछन् ।
धार्मिक पुराणहरुमा व्याख्यान गरिएका तिर्थस्थलहरुमध्ये ऐरावती तिर्थस्थलमा स्वस्थानी व्रत आरम्भदेखि स्वस्थानी साङ्गीता पूर्णीमाको दिनमा स्वर्गबाट अप्सराहरु आइ ब्रत गर्ने उपवास बस्ने र साङ्गता गरी फर्कने गरेको ऐतिहासिक कथाहरुमा पाइन्छ । त्यहाँ स्वयं देवराज इन्द्र ऐरावत हात्ती मै सवार भई दर्शन गर्न आउने गरेको र एक दिन हतारमा इन्द्र अन्र्तध्यान हुँदा हात्ती ऐरावतले आफ्नो शरिर पत्थरमा परिणत भई रहेको हुँदा ऐरावति भएको हो । जुन वि.स. १९७५ मा आएको विशाल बाढीले ऐरावतिलाई पुरिएको र त्यहाँ रहेका सुरुङ मार्ग र अन्य मूर्तिहरु पनि पुरिई ओझेलमा पर्न गयो ।

४. झाक्रिस्थान :
मल्लरानी गाउँपालिकाको खलंगामा अवस्थित झाँक्रिस्थान परापूर्व कालदेखि चल्दै आएको र मानिदै आएको देवस्थल मध्ये एक हो । जुन खलंगा बजार देखि दक्षिण पूर्वमा अवस्थित छ । त्यस स्थानमा जान पैदल एक घण्टा लाग्दछ । यो झाक्रिस्थान अर्थात कात्रेखोलाका देवता नाममा प्रख्यात रहेको छ । यहाँ आएर आ–आफ्नो इच्छित वर माग्न स्थानियदेखि प्रवासीसम्म आई पुग्दछन् र त्रीशुल र घण्ट चढाउने गर्दछन् । जुन त्यहाँ गएर हेर्दा झाक्रिस्थान रहेको बृक्षमा त्रिशुलहरु गाडिएको रहेको देख्न पाइन्छ भने घण्टहरु पनि थुप्रै संख्यामा । दुवै लेकहरुको खोचमा परेको र विचबाट काक्रे खोलाले आफ्नो गति लिएको छ । पर्यटकीय मनोरञ्जन स्थलका रुपमा स्थानीय जिल्लाबासीहरुले लिएका छन् भने टाढा–टाढाबाट पनि पन्च वली र पुजा आजा गर्न हुने आगमनले यहाँको मान्यता अहिले पनि झन बृद्धि भइनै रहेको छ । शुरु–शुरुमा विश्वकर्माहरुले माघे संक्रान्तिको दिनमा पुजा अर्थात देवाली गर्ने गरेको जसमा भेडा चढाउने प्रचलन रहेको थियो । यहाँको सरसफाई प्राकृतिक रुपबाटै चलेको छ । कृतिम सरसफाई गर्न खोज्नेहरुको भलो भन्दा कुभलो हुने विश्वास राखिन्छ ।

५. भित्रीकोट :
प्यूठान राज्यको भित्रीकोट चन्द्रबंशी राजाको राजधानी थियो । वर्तमान प्यूठान नगरपालिकामा अवस्थित सदरमुकाम खलंगा देखि ९ कि.मी. उत्तर पश्चिममा अवस्थित भित्रिकोट राजपरिवारको वासस्थान मात्र नभई प्रशासनिक केन्द्रको रुपमा विद्यमान थियो । भित्रिकोट पुरातात्विक, सांस्कृतिक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । यहाँ मन्दिर तथा विद्यालयसमेत बनाइएका छन् । यहाँको मन्दिरको गर्भभागमा सिंहबाहिनी देवीको मूर्तिको साथै घण्ट, ध्वजा, मूर्ति आदि राखिएका छन् । दसैको अवसरमा गुठियारले जमरा राखी नवदुर्गा भवानीको पूजाआजा गर्दछन् । धौलागिरी हिमालको दृश्यसमेत यहांवाट अवलोकन गर्न सकिन्छ ।

६. सम्पादन गर्न बाँकी
७. लुङ्गको देवाली :
नौबहिनी गाउँपालिकाको लुङ्ग गाउँमा रिजाल थरका जातीहरुले आफ्नो कुल पुजाँको रुपमा देवाली गर्ने गर्दछन् । नेपालकै प्रख्यात देवालीको रुपमा मानिन्छ, यो लिवाली । यहाँ देवाली गर्ने गर्छन् । यो नेपालकै प्रख्यात देवालीको रुपमा मानिन्छ । यहाँ देवाली गर्नका लागि रिजाल बाहेक अन्य जात र थरका मानिसहरुको पनि सहभागिता हुन्छन् भने गाँउ पुग्न नसक्नेहरुले अन्यत्रैबाट पनि लुङतर्फ फर्केर बलि दिने चलन छ । देवालीको मुख्य आकर्षण ध्वजाले बनेको आम र भोकर हो । ध्वजै ध्वजाले बनेको आलममा देवालीमा आउने दर्शनार्थीहरुले ध्वजा थप्दै जाँदा आलममा आकार निकै ठूलो हुन्छ । बिहानीमा हुने आलमको यात्रा निकै रमाईलो हुन्छ । देवाली हरेक ५ वर्षको अन्तरमा गरिन्छ ।

८. तिहारमा लाग्ने जात्रा : 
प्यूठान जिल्लामा तिहारमा मनाईने विभिन्न जात्रामध्ये डल्ले जात्रा, चितीखोला र पाठशाला जात्राहरु बढी लोकप्रिय छन् । पुण्यखोला गाउँको डल्ले बगैचामा कात्र्तिक शुक्ल तृतियाको दिन लाग्ने डल्ले जात्रा, दाखाक्वाडीको चितीखोलामा लाग्ने शुल्क चौथी र विजयनगरको शिवालयमा कात्र्तिक शुल्क पञ्चमीको दिनमा लाग्ने पाठशाला जात्रा यस जिल्लाका महत्वपूर्ण जात्रा हुन् । डल्ले जात्रामा पुण्यखोला, थापाडाडाँ, कार्किडाँडा, खैरा र बिजुवार समेत सात गाँउबाट आएको सराएँहरु डल्ले बगैचामा भेला भई ‘उ खै ? उ खै ?’ खेली दिन विताउँछन् ।

स्रोत  : साबिक जिल्ला विकास समिति